Page 9

रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला अधिवेशन सञ्चालनसम्बन्धी कार्यविधि तय गर्दै विभिन्न पदका उम्मेदवारका लागि मनोनयन शुल्क निर्धारण गरेको छ।
पार्टीले सार्वजनिक गरेको जिल्ला अधिवेशन कार्यविधिअनुसार जिल्ला सभापति पदका उम्मेदवारले ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै उपसभापति, सचिव, सहसचिव तथा कोषाध्यक्ष पदका उम्मेदवारका लागि समान शुल्क तोकिएको छ। जिल्ला सदस्य पदका आकांक्षीका लागि भने १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको कार्यविधिमा उल्लेख छ।
निर्वाचन क्षेत्रस्तरका उपसंयोजक तथा सचिव पदका उम्मेदवारले १ हजार रुपैयाँ बुझाउनुपर्नेछ भने सदस्य पदका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको छ।
रास्वपाको विधानअनुसार जिल्ला समितिमा सभापति, उपसभापति, सचिव र सहसचिव एक(एक जना रहने व्यवस्था छ। साथै सम्बन्धित जिल्लामा बहुलता रहेको जातीय क्लष्टर, दलित सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट एक(एक जना सदस्य निर्वाचित हुने प्रावधान राखिएको छ। यसबाहेक थप तीन जना सदस्य रहने व्यवस्था पनि गरिएको छ।
कार्यसमिति विषम संख्या कायम हुने गरी जिल्ला सभापतिलाई आवश्यकता अनुसार दुई वा तीन जना सदस्य मनोनयन गर्ने अधिकार दिइएको छ। साथै जिल्ला अन्तर्गतका सभापतिहरू पदेन सदस्य रहने व्यवस्था कार्यविधिमा समावेश गरिएको छ।
पार्टीले आगामी असार ७ देखि ९ गतेसम्म पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ। त्यसअघि जेठ २३ र २४ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने तालिका तय गरिएको छ।
कार्यविधिमार्फत जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधिको दायरा समेत निर्धारण गरिएको छ। जिल्ला समितिका पदाधिकारी, सल्लाहकार परिषद्, अनुशासन आयोग, विभिन्न विभाग, सम्पर्क विभाग, निर्वाचन क्षेत्रीय समिति लगायतका संरचनाका प्रतिनिधि अधिवेशनमा सहभागी हुने व्यवस्था गरिएको छ।
यसका अतिरिक्त पालिका समिति, जनप्रतिनिधि, प्रदेश सभा क्षेत्रअन्तर्गतका विभिन्न संरचनाका सदस्यलाई समेत जिल्ला अधिवेशन प्रतिनिधिका रूपमा सहभागी गराइने उल्लेख गरिएको छ।

सर्वोच्च अदालत प्रशासनविरुद्ध बार एसोसियसनद्वारा आन्दोलनको घोषणा

काठमाडौं । सर्वोच्च अदालत प्रशासनको निर्णयविरूद्व नेपाल बार एसोसियसनले आन्दोलनको घोषणा गरेको छ ।
कामु प्रधानन्यायाधीस सपना प्रधान मल्लको निर्देशनपछि पनि सर्वोच्च प्रशासनले निवेदन दर्ता नगरेपछि बार आन्दोलनमा उत्रिएको हो । बारले मंगलबार दिउँसो सवा १ बजे बार एसोसियसन परिसरमा लालटिन बालेर विरोध जनाउने भएको छ।
थप कार्यक्रमहरू सल्लाहकार तथा एकाइबाट प्राप्त सुझावहरूअनुसार सञ्चालन गर्दै जाने बारले विज्ञप्तिमार्फत् जनाएको छ। यस्तै बारले प्रतिनिधिसभा बैठकमा केही सांसदहरूले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न बन्देज गर्ने लगायतका धारणा राखेकामा पनि आपत्ति जनाएको छ ।
त्यस्ता अभिव्यक्तिहरू संसदीय अभिलेखबाट हटाउन र यस्ता घटनाहरू दोहोरिन नदिनका लागि सांसदहरूलाई स्पष्ट आदेश दिन सभामुखसमक्ष पनि बारले अनुरोध गरेको हो ।

विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले) ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।
आज बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले ७ अर्ब रुपियाँ बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने

काठमाडौं । राष्ट्र बैंकले ७ अर्ब रुपियाँ बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६६ दिनको मुद्दती निक्षेपका रुपमा लगानी गर्न लागिएको हो ।
उक्त रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्दै यही जेठ ६ गतेसम्म आवेदन दिनु पर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुमा ५ अर्ब ६० करोड, विकास बैंकहरुमा १ अर्ब ५ करोड र राष्ट्रिय स्तरका वित्त कम्पनीमा ३५ करोड रुपियाँ लगानी गर्न लागिएको हो ।

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर’ बाट सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर ( नेपाल’ बाट सम्मानित भएको छ )।
इन्डियन च्याम्बर अफ कमर्सद्वारा थाइल्यान्डको बैंककमा आयोजित भव्य समारोहका बीच यो पुरस्कार घोषणा गरिएको थियो । आयोजकका तर्फबाट प्राप्त आधिकारिक ट्रफी र प्रमाणपत्र कम्पनीको केन्द्रीय कार्यालयमा हर्षोल्लासका साथ ग्रहण गरिएको छ ।
यो गरिमामय पुरस्कारले सिटिजन लाइफ इन्स्योरेन्सको सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा, परिष्कृत डिजिटल प्रविधि र आम नागरिकमाझ जीवन बीमाको पहुँच पुर्‍याउन खेलेको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा पुनः प्रमाणित गरेको छ।
यस ऐतिहासिक सफलताको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले भने, “आज यो ट्रफी र प्रमाणपत्र कम्पनीमा प्राप्त हुँदा हामी अत्यन्तै गौरवान्वित भएका छौँ। यो अन्तर्राष्ट्रिय सम्मान हाम्रा आदरणीय ग्राहकहरूले हामीप्रति देखाउनुभएको अटुट विश्वास, हाम्रा प्रगतिका संवाहक अभिकर्ता साथीहरू र कर्मचारी वर्गको कडा परिश्रमको प्रतिफल हो। हामी यो पुरस्कार हाम्रा सम्पूर्ण सिटिजन परिवार र शुभचिन्तकहरूमा समर्पित गर्दछौँ।”
विगतका दिनहरूमा झैँ आगामी दिनमा पनि आफ्ना सेवाहरूलाई अझ बढी सुरक्षित, भरपर्दो, आधुनिक र प्रविधिमैत्री बनाउँदै हरेक नेपालीको सुख(दुःखको सारथी बन्न सिटिजन लाइफ इन्स्योरेन्स प्रतिबद्ध रहेको छ ।

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारतस्थित मेदान्ता अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ । यस सहकार्यसँगै ग्राहकहरूले अब मेदान्ता अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवाहरू र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने सक्नेछन् । साथै, आइपिडी सेवाअन्तर्गत रुम रेन्ट तथा विभिन्न जाँच सेवाहरूमा १० प्रतिशत छुट पनि उपलब्ध हुनेछ ।
ग्राहकहरूको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै एनएमबि बैंकले बैंकिङ सेवाभन्दा बाहिर पनि ग्राहकहरूलाई थपसुविधा प्रदान गर्ने उद्देश्यले यस्तो सहकार्य अघि बढाएको हो ।
बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

राष्ट्रिय बीमा अभिकर्ता संघ सानिमा रिलायन्सको केन्द्रीय समिति गठन, नमिता न्यौपाने अध्यक्ष चयन

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आबद्ध अभिकर्ताहरूको संगठन नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको केन्द्रीय भेला आइतबार काठमाडौंमा सम्पन्न भएको छ। भेलाले नमिता न्यौपानेलाई अध्यक्षमा चयन गर्दै नयाँ केन्द्रीय समिति गठन गरेको हो।
भेलाबाट श्याम गुरुङ वरिष्ठ उपाध्यक्षमा चयन भएका छन्। त्यसैगरी उपाध्यक्षहरूमा प्रदेशगत प्रतिनिधित्वका आधारमा सिता श्रेष्ठ (कोशी प्रदेश), कल्पना विष्ट (बाग्मती प्रदेश), रामजी पोखरेल (गण्डकी प्रदेश), खड्क क्षेत्री (लुम्बिनी प्रदेश), धिरेन्द्र साही (कर्णाली प्रदेश) तथा विरेन्द्र सिंह बोहरा (सुदूरपश्चिम प्रदेश) चयन भएका छन्।
संघको सचिवमा चन्द्रप्रसाद आचार्य तथा सहसचिवमा सुवास रिजाल चयन भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी दिलमाया मोक्तानले पाएका छन्।
त्यसैगरी सदस्यहरूमा सिता भट्टराई, गोकर्ण पाण्डे, उर्मिला कँडेल, रमेश राई, लक्ष्मण गौतम, शंकर थपलिया, जयराम रिमाल, रश्मी गिरी तथा युवराज गुप्ता चयन भएका छन्। संघले बाँकी केन्द्रीय समिति भने पछि मनोनयनमार्फत पूर्ण गर्ने जनाएको छ।
भेलामा देशभरबाट सहभागी अभिकर्ताहरूले बीमा क्षेत्रको व्यावसायिक विकास, अभिकर्ताहरूको हकहित संरक्षण तथा बीमा सचेतना विस्तारका विषयमा छलफल गरेका थिए। समितिले अभिकर्ताहरूको पेशागत अधिकार, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कालीगण्डकी करिडोरको रुद्रवेणीदेखि चेहेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको मोटरसाइकल सत्यवती गाउँपालिका–१ अस्लेवामा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक कालीगण्डकी गाउँपालिका– ३ भुस्तुङका ३४ वर्षीय लक्ष्मण थापा र मोटरसाइकलमा सवार ४५ वर्षीय गिरमान सिंह रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको सारुले जनाए ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।

विश्वकप क्रिकेट लिग २ ः नेपालले आज स्कटल्यान्डसँग खेल्दै

काठमाण्डौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृंखला अन्तर्गत नेपालले सोमबार स्कटल्यान्डसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुनेछ ।
यसअघि शनिबार अमेरिकासँग प्रभावशाली जित निकालेपछि उच्च मनोबलमा रहेको नेपाल खेलमा पनि त्यही लय कायम राख्ने लक्ष्यमा छ ।
यसअघि नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो । अमेरिकाविरुद्ध कुशल भुर्तेलले शतक प्रहार गर्दा आसिफ शेखले अर्धशतक बनाए । नेपाल र स्कटल्यान्डबीच अहिलेसम्म बराबरी प्रतिस्पर्धा देखिएको छ ।
दुवै टोलीले एक–अर्काविरुद्ध ५–५ खेल जितेका छन् ।

एमाले सचिवालय बैठक बस्दै, नेताहरुको कार्यविभाजन मुख्य एजेण्डा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज (सोमबार) बस्दैछ ।
अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्न लागेको कार्यलय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको हो ।
११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकोले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले जनाएका छन् । एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ ।
हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ ।
यसैगरी, केन्द्रीय विभाग तथा निकायहरुमा जिम्मेवारी बाँडफाँडको तयारी छ ।
आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने ति पदाधिकारीले जानकारी दिए ।
आजको बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उनीहरुको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरुले जनाएका छन् ।

लेटेष्ट समाचार

राष्ट्रिय सभाबाट विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत

काठमाण्डौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले विभिन्न अध्यादेश सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा सांसद सम्झना देवकोटाले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार...

यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले आज विभिन्न निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त...

इजरायल र हिज्बुल्लाह युद्धविरामका लागि सहमत

काठमाडौं । इजरायल र लेबननको हिज्बुल्लाह युद्धविराम गर्न सहमत भएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले उक्त सहमति भएको जानकारी दिएका हुन् । इजरायलका...