काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वासकासाथ आइएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। सोही प्रतिबद्धताको निरन्तरतास्वरूप प्रदान गरिएको उक्त सहयोग रकम कैलाली, दोलखा र सिन्धुली जिल्लामा सञ्चालित समता एजुकेशन फाउन्डेसन अन्तर्गतका विद्यालयहरूको शैक्षिक गतिविधि सुदृढीकरण तथा गुणस्तरीय शिक्षा प्रवद्र्धनमा परिचालन गरिनेछ।
समता एजुकेशन फाउन्डेसनले विगत लामो समयदेखि आर्थिक रूपमा विपन्न बालबालिकालाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ। आईएमई लाइफ इन्स्योरेन्सको यस सहयोगले फाउन्डेसनका शैक्षिक कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन तथा भविष्यमा अझ बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।
‘इन्स्योरिङ फ्युचर’ को मूल मन्त्रलाई आत्मसात गर्दै आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ।
आइएमई लाइफद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख सहयोग
नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्बन्धी सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बिहीबार कोषका नि.कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप के।सी।ले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार गाउँपालिकाले श्रमिक कल्याण कोष सञ्चालन कार्यविधि अनुसार सहभागीलाई श्रमिक कल्याण कोषबाट गाउँपालिकाले मासिक ५०० रुपियाँँ र सहभागी श्रमिकले मासिक ५०० रुपियाँ योगदान गरी प्रतिमहिना १ हजार रुपियाँ जम्मा गर्ने व्यवस्था गरिनेछ ।
यसका लािग कोषले योजना सञ्चालनका लागि आवश्यक केवाईसी फाराम तथा व्यक्तिगत विवरण कार्ड निःशुल्क उपलब्ध गराउनेछ भने गाउँपालिकाले सहभागी श्रमिक तथा उनीहरूको व्यक्तिगत खातासम्बन्धी विवरण अद्यावधिक राख्नुपर्नेछ । सहभागी श्रमिकले नागरिक पेन्सन योजना सञ्चालन कार्यविधि, २०७६ बमोजिम ६० वर्ष उमेर पुगेपछि पेन्सन सुविधा प्राप्त गर्नेछन् ।
पेन्सन प्राप्त गरिरहेका सहभागीको मृत्यु वा हराइ बेपत्ता भएको अवस्थामा निजको श्रीमान् वा श्रीमतीलाई प्रचलित व्यवस्थाअनुसार सहभागीले पाए सरह आजीवन पेन्सन उपलब्ध गराइनेछ । दुवैको मृत्यु भएमा खातामा रहेको बचत रकम नजिकको हकवालालाई उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
योजनामा सहभागी भएको पाँच वर्ष पूरा भएपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्म रकम गाउँपालिकाको सिफारिसमा सापटीका रूपमा लिन सकिने व्यवस्था रहेको छ ।
कुमारी बैंक र नेशनल प्याथ ल्याबबीच सम्झौता
काठमाडौं । कुमारी बैंक र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड, टंगाल–काठमाडौंबीच ग्राहकहरुलाई ल्याबबाट प्रदान गरिने विभिन्न परिक्षण सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार ल्याबबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गरिनेछ ।
बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकवर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।
ग्राहकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै, बैंकद्वारा मेदांता, इन्द्रप्रस्थ एपोलो लगायतका देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू सम्पन्न गरिएका छन्, जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ ।
बदलिँदो समयसँग समन्वय गर्दै, सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै, बैंकले आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने अठोट व्यक्त गरेको छ ।
रातो मच्छिन्द्रनाथको भोटोजात्रा आज
काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज (शनिबार) भोटो जात्रा मनाइँदै छ ।
जावलाखेलस्थित ललित मण्डपमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिनेछ । करिब १६ सय वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ ।
परम्पराअनुसार रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती लगिनेछ । ६ महिनासम्म बुङ्मतीमा राखेपछि साइत हेरी पुनः पाटनस्थित मच्छिन्द्रबहाल ल्याइने चलन छ ।
सातै प्रदेशमा ‘ब्लू बस’ चलाउने सरकारको तयारी
काठमाण्डौं । महिलालाई लक्षित गर्दै सरकारले सातवटै प्रदेशमा ‘ब्लू बस’ सञ्चालनको तयारी गरेको छ ।
सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी सुरु भएको हो ।
सरकारले सार्वजनिक यातायातमा महिला तथा बालिकाको सुरक्षालाई प्राथमिकता दिँदै ‘ब्लू बस’ सेवालाई क्रमशः विस्तार गर्ने योजना बनाएको हो । आगामी आर्थिक वर्षमा सातै प्रदेशमा ‘ब्लू बस’ सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रमसमेत प्रस्ताव गरिएको छ ।
कार्ययोजनाअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यसअन्तर्गत काठमाण्डौं उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा सातवटा बसलाई ‘ब्लू बस’का रूपमा सञ्चालन गर्ने योजना अघि बढाइएको छ ।
उपत्यकाबाहिर सबै प्रदेशका यातायात व्यवसायी संघसँग समन्वय गरी कम्तीमा १८ वटा बस सञ्चालनको तयारी गरिएको छ ।
यातायात मन्त्रालयका अनुसार ‘ब्लू बस’ सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समय सारिणीसहितको कार्ययोजना, शीर्षकगत लागत अनुमान तथा सञ्चालनको जिम्मेवारी निर्धारण गरिएको मस्यौदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ । प्राप्त प्रस्तावका आधारमा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
काठमाण्डौं उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनका लागि साझा यातायातसँग निरन्तर समन्वय भइरहेको छ । सेवा सञ्चालनका विभिन्न विकल्पसहित तयार पारिएको प्रस्ताव मन्त्रालयमा निर्णयका लागि पेस गरिएको छ । आवश्यक प्रक्रियाहरू अगाडि बढाइएको छ ।
‘ब्लू बस’ सेवा सञ्चालनमा आएपछि विशेष गरी विद्यार्थी, श्रमिक, कर्मचारी तथा दैनिक रूपमा सार्वजनिक यातायात प्रयोग गर्ने महिलालाई सुरक्षित र सहज यात्राको वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ ।
सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा तथा अपराध नियन्त्रणका लागि सिसीटिभी र ड्यासक्याम जडानलाई प्राथमिकता दिइएको छ ।
चितवनको भरतपुरमा रास्वपा केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक चितवनको भरतपुरमा आह्वान भएको छ ।
महाधिवेशनको तयारीसँगै रास्वपाले केन्द्रीय समिति बैठक आह्वान गरेको हो ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठक दिउँसो १ बजे भरतपुरको होटेल एिमटीमा बस्न लागेको हो । बैठकमा महाधिवेशनलगायतका एजेन्डामा छलफल हुनेछ ।
बैठकमा राष्ट्रिय महाधिवेशन, महाधिवेशन प्रतिनिधि, प्रतिवेदन, विधान संशोधन प्रमुख एजेन्डा रहेको जनाईएको छ । भोलिदेखि रास्वपाको राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ ।
आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त
काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा
अभिनेता प्रकाश सपुत नियुक्त भएका छन। आइएमई लिमिटेडले आज एक कार्यक्रमका
बीच सपुतलाई आफ्नो सांगीतिक एम्बेसेडरका रूपमा सार्वजनिक गरेको हो।
रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो
बनाउने उद्देश्यले सपुतलाई आबद्ध गरिएको कम्पनीले जनाएको छ। आफ्ना मौलिक लोक
सिर्जना र सामाजिक चेतनामूलक गीतहरूका कारण सपुत नेपाली समाजमा निकै लोकप्रिय
छन। गाउँदेखि सहरसम्म र दूरदराजदेखि विदेशमा रहेका नेपालीहरूमाझ उनका
गीतहरू उत्तिकै रुचाइएका छन्।
रोजगारीका लागि विश्व श्रम बजारमा पुगेका आम नेपालीहरूको भावनालाई प्रकाश सपुतले
आफ्ना गीत संगीत मार्फत बोल्दै आएका छन। देशको अर्थतन्त्र र समाजलाई समृद्ध
बनाउन रेमिट्यान्सले खेलेको भूमिकालाई आम मानिससम्म बुझाउन सपुतको आगमनले
थप मद्दत पुग्ने आइएमईको विश्वास छ।
सम्झौता कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटवालले भने
उनका सिर्जनाले समाजको यथार्थ बोल्ने र नेपालीको मन छुने भएकाले यो सहकार्यले हाम्रो
अभियानमा एउटा छुट्टै आफ्नोपन थप्नेछ। साथै, उनले स्वदेश र विदेशको दूरीलाई कम गर्न
संगीत सबैभन्दा बलियो माध्यम भएको र यसले प्रवासी नेपाली श्रमिकहरूका लागि
सारथीको काम गर्ने उल्लेख गरे ।
त्यस्तै, गायक प्रकाश सपुतले आइएमई जस्तो प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा आफू
निकै उत्साहित भएको जनाए । उनले विश्वभर छरिएका नेपाली दाजुभाइ तथा
दिदीबहिनीहरूलाई संगीतको माध्यमबाट आफ्नो माटोसँग जोडीराख्ने प्रतिबद्धता
जनाए ।
राष्ट्रिय सभाबाट विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत
काठमाण्डौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले विभिन्न अध्यादेश सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।
बैठकमा सांसद सम्झना देवकोटाले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।
त्यसपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी गरेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो ।
सांसद मिनासिंह रखालले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो ।
सांसद रञ्जित कर्णले राखेको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी राखेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो ।
सांसद रोशनी मेचेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ लाई स्वीकृत गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।
बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानुनमन्त्री गौतमले थारु आयोगको २०८१, ८२ को वार्षिक प्रतिवदेन पेस गरेकी थिइन् । राष्ट्रिय सभाको अर्को बैठक असार ११ गते दिउँसो १ः१५ बजे बस्नेछ ।
यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
काठमाडौं । सरकारले आज विभिन्न निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका निर्णय गरेको हो ।
यी हुन् निर्णयहरू–
१। नेपाल विशेष सेवा ऐन २०४२ को साविक व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने।
२। नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट (कैलाली) लाई नियुक्त गर्ने।
३। सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।
४। बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।
५। राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।
६। संघीय संसद समक्ष देहायका प्रतिस्थापन विधेयकहरु पेश गर्न स्वीकृति प्रदान गर्नेः
क। सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक
ख। सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक
ग। सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक
घ। स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक
इजरायल र हिज्बुल्लाह युद्धविरामका लागि सहमत
काठमाडौं । इजरायल र लेबननको हिज्बुल्लाह युद्धविराम गर्न सहमत भएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले उक्त सहमति भएको जानकारी दिएका हुन् । इजरायलका एक सैनिक प्रवक्ताले भने युद्धविराम कार्यान्वयनमा रहेको तर ूआदेश पाए सेनाले पुनः सैन्य कारबाहीू गर्ने जनाए।
अमेरिका र इरानबीच भएको सहमतिलाई लेबननमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्तामाझ उक्त सम्झौता भएको हो। शुक्रवार अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो स्थगित गरिएको थियो।
लेबननले पछिल्लो इजरायली हवाई आक्रमणमा कम्तीमा १८ जना मारिएको बताएको थियो भने इजरायलले हिज्बुल्लाहले चार सैनिक मारिदिएपछि आफूले जबाफी आक्रमण गरेको जनाएको थियो।
इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले हिज्बुल्लाह र इजरायलबीच युद्धविराम भएको पुष्टि गरेको छ। आईडीएफका प्रवक्ता एफी डेफ्ररिनले एउटा विज्ञप्तिमा भने, ूहामी युद्धविरामको अवस्थामा छौँ। आईडीएफ आदेश पाएको खण्डमा लडाइँलाई पुनस् जारी राख्न तयार छ।ू
अमेरिका र इरानबीच भएको सम्झौताअनुसार लेबननमा पनि युद्ध अन्त्य हुनुपर्ने थियो। तर लेबननको स्वास्थ्य मन्त्रालयले इजरायलका हवाई हमलाहरूमा दक्षिण भागमा गत राति कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको थियो।
इजरायली सेनाले आफूले इरानको समर्थन पाएको हिज्बुल्लाह समूहलाई निसाना बनाएको उल्लेख गर्दै आफ्ना चार जना सैनिकहरू मारिएको जनाएको थियो।
इजरायलका सैनिकको मृत्युबारे चरम दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्री इट्मा बेन गभिरले उनकै शब्दमा सम्पूर्ण लेबनन जल्नुपर्ने जनाएका थिए। लेबननका राष्ट्रपति योजेफ आउनले इजरायली आक्रमणको विस्तारलाई खतरनाक भन्दै यसले तनाव चर्काउने चिन्ता जनाएका थिए।
उक्त तनावमाझ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्विट्जरल्यान्डको भ्रमणमा ढिलाइ गरेका थिए।यसै हप्ता हस्ताक्षर भएको अमेरिका इरान सम्झौताको कार्यान्वयनका आगामी पाटोहरूबारे प्राविधिक छलफल गर्न स्विट्जरल्यान्डमा आज वार्ता हुन लागेको थियो।
ह्वाइट हाउसले बिहीवार अबेर भान्स वार्ताका लागि नजाने भन्दै भ्रमणको तयारी प्रक्रिया ुसमान्य वा अनुमानयोग्यु नभएको जनाएको थियो। दुई देशबीचको सम्झौतामा हस्ताक्षर भएपछि अमेरिकाले इरानविरूद्धको सामुद्रिक नाकाबन्दी हटाएको थियो।
ह्वाइट हाउसको विज्ञप्ति आउनु केही घण्टाअघि हिज्बुल्लाहसम्बद्ध लेबननको सञ्चारमाध्यमले इजरायलको जारी आक्रमणका कारण वार्ता स्थगित भएको खबर प्रकाशित गरेको थियो।
गत फेब्रुअरी अन्त्यमा इरानका सर्वोच्च नेता इजरायली हमलामा मारिएपछि हिज्बुल्लाहले इजरायलमा रकेट हमलाहरू गरेको थियो। त्यसपछि मार्चको प्रारम्भमा इजरायल, अमेरिका र इरानबीचको युद्धमा लेबनन पनि तानिएको थियो।
इजरायलले लेबननभर बमबारी गरेको थियो र उत्तर सीमाबाट हिज्बुल्लाह लडाकुलाई लखेट्ने उद्देश्यले कैयौँ भाग कब्जामा लिएका थियो। पछिल्लो द्वन्व यता लेबननमा कम्तीमा ३,९१२ जना मारिएका र ११,६९९ घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दक्षिण लेबननका दर्जनौँ समुदायहरू पूर्ण रूपमा ध्वस्त हुँदा झन्डै १० लाख मानिस विस्थापित भएका छन्।
















