काठमाण्डौं । एमालेले स्थानीय र प्रदेश तहको निर्वाचनलाई लक्ष्य गरेर केन्द्रीय सदस्यहरुलाई ‘मिसन जागरण’ का निम्ति परिचालन गरेको छ ।
आगामी निर्वाचनमा पार्टीका पक्षमा मतदातालाई पार्न एमालेले यो अभियान सञ्चालन गर्न लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको शाख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित अभियानको विस्तृत व्याख्या सहितको कार्ययोजना पठाएको छ ।
पार्टीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारीसहित पठाइएको मिसन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पराजयको कारण, पार्टीप्रति निराश हुनुको कारण आदि विस्तृत रूपमा केलाइएको छ ।
जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले ‘६ ज’ को नीति प्रस्तुत गर्दै ‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसङ्गठन परिचालन गरौँ, जबजलाई आत्मसात् गरौँ र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौँ’ भन्ने आह्वानसहित कार्ययोजनाको विवरण पठाएको उनले जनाए ।
आचार्यका अनुसार मिसन जागरण अभियानको जिम्मेवारी लिने नेताहरू वर्तमान राजनीतिको पृष्ठभूमि, निर्वाचनको पराजयका कारण र पार्टीको भावी नीतिका बारेमा स्पष्ट होउन् भन्ने उद्धेश्यले विस्तृत र सरल भाषामा अवधारणा पत्र तयार गरिएको छ ।
जिम्मेवारी पाएका नेताहरू स्थलगत रूपमा खटेका छन् कि छैनन भनेर अनुगमनको पनि व्यवस्था गरिएको छ । केन्द्रबाट खटिने नेताहरूलाई होटलमा भन्दा जनताको घरमै बस्न आग्रह गरिएको आचार्यले जनाए । आचार्यका अनुसार यो अभियान र जिम्मेवारी आगामी स्थानीय तह र प्रदेशको निर्वाचनसम्म कायम रहनेछ ।
एमालेको ‘मिसन जागरण अभियान’का लागि नेताहरू परिचालन
चीन उडे परराष्ट्रमन्त्री खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी वाङ यी लगायत चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् ।
उनले नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा भाग लिने तथा चिनियाँ व्यवसायीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किनेछन् ।
३६ वर्षपछि विश्वकपमा स्कटल्यान्डको जित
काठमाडौं । फिफा विश्वकप–२०२६ मा स्कटल्यान्डले विजयी सुरुवात गरेको छ ।
बोस्टन रंगशालामा नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा स्कटल्यान्डले हाइटीलाई १–० गोलले पराजित गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा स्कटल्यान्डका लागि जोन म्याकगिनले २८ औं मिनेटमा गरेको गोल निर्णायक गोल बन्यो ।
हाइटीमाथिको जितसँगै स्कटल्यान्डले ३६ वर्षपछि विश्वकपमा जितको खडेरी अन्त्य गर्यो अर्थात सन् १९९० पछि स्कटल्यान्डले पहिलो जित हात पार्यो ।
सेफ सन्तोष साह पक्राउ
काठमाडौं । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई गएराति पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बैंकिङ कसुरसम्बन्धी उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
जंगली जनावरको आतंकले किसान आक्रोशित छन्, सरकार उदासीन ः महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जंगली जनावरका कारण कृषिबालीमा भइरहेको क्षतिबाट किसानलाई जोगाउन ठोस राष्ट्रिय नीति आवश्यक रहेको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले यस्तो जनाएका हुन् ।
‘यतिबेला किसानहरु जंगली जनावरले पुर्याएको कृषिबालीको क्षति देखाएर रोइरहेको आक्रोश पोखिरहेको दृष्यले सबैलाई उद्देलित बनाइरहेको छ । तर राज्यका निकायहरु अभिसन्धी र कानूनका कारणले ती दृष्यबाट विमुख भइरहेका छन् । तर यस्तो लाचारी कहिलेसम्म ?’ पोखरेलले भने, ‘अन्तरार्ष्ट्रिय अभिसन्धि र कानुनको बहाना देखाएर किसानलाई आफ्नै थातथलो र खेतीपातीबाट बेदखल गर्ने काम न्यायोचित होइन ।’
महासचिव पोखरेलले बाँदर, बँदेल र दुम्सी लगायतका जंगली जनावरको आतंकका कारण कृषिकर्ममा आश्रित किसान विस्थापित हुने अवस्था सिर्जना भएको जनाए । किसानहरू बाली नष्ट भएको पीडा पोखिरहे पनि राज्यका निकायहरू अन्तर्राष्ट्रिय अभिसन्धि र कानुनी व्यवस्थाको बहाना बनाएर समस्या समाधानतर्फ उदासीन रहेको उनको भनाई छ ।
पोखरेलले संरक्षणका नाममा किसानलाई आफ्नै थातथलो र खेतीपातीबाट बेदखल गर्न नहुने जनाउँदै प्रकृति र मानवबीच सन्तुलन आवश्यक भए पनि त्यसले मानिसकै उठिबास लाग्ने अवस्था सिर्जना गर्न नहुने जनाए।
उनले जंगली जनावरबाट बढ्दो क्षति रोक्न सर्वदलीय बैठक बोलाई साझा राष्ट्रिय दृष्टिकोण तयार गर्न आग्रह गरेका छन् । संरक्षण क्षेत्रभित्रका पशुपन्छीको संरक्षणमा विशेष जोड दिनुपर्ने तर कृषिक्षेत्रका लागि छुट्टै नीति, कानुन र संरक्षणका उपाय अवलम्बन गर्नुपर्ने पोखरेलको भनाई छ ।
किसान र कृषि उत्पादन दुवैलाई संरक्षण गर्नेगरी नीति निर्माण गर्न ढिलाइ भइसकेको उल्लेख गर्दै महासचिव पोखरेलले अब तत्काल पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
विश्वकप फुटबल ः आयोजक अमेरिकाको विजयी सुरुवात
काठमाण्डौं । फिफा विश्वकप फुटबल २०२६ मा अमेरिकाले सहज जित निकाल्दै विजयी सुरुवात गरेको छ।
शनिबार विहान भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४, १ गोलले हराउँदै घरेलु मैदानबाट विश्वकपमा विजयी सुरुवात गरेको हो ।
लस एन्जलसमा भएको खेलमा अमेरिकाले सातौँ मिनेटमा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले गरेको आत्मघाती गोलमार्फत अग्रताको सुरुवात गरेको थियो ।
पहिलो हाफको ३१औँ मिनेट अमेरिकाका फोलारिन बालोगुन गोल गर्दै २–० को अग्रता कायम गरेका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा बालोगुनले थप १ गोल गरी अमेरिकालाई ३, ० गोलको अग्रता बनाएका थिए ।
माउरिसिओले ७३औँ मिनेटमा पाराग्वेको तर्फबाट पहिलो गरे । तर, अमेरिकाले दोस्रो हाफको इन्जुरी समयमा पनि एक गोल थप्यो । दोस्रो हाफको इन्जुरी समयमा अमेरिकाका जियोभानी रेयना गोल गरे । अन्ततः नतिजा अमेरिकाको पक्षमा पर्यो ।
यसअघि शनिबार बिहान भएको घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा टुंगिएको थियो ।
सहआयोजक समेत रहेको क्यानडाले टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग एक, एक गोलको बराबरी खेलेको हो ।
खेलको २१औं मिनेटमा जोभो लुकिचले गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई अग्रता दिलाएका थिए । तर, बोस्निया एन्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन । ७८ औं मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो ।
काइल लारिनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए । त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले एक(एक अंक बाँडेका छन् । यो बराबरीसँगै क्यानडाले विश्वकप इतिहासमै पहिलो पटक अंक हासिल गरेको हो ।
क्यानडाले यसअघि सन् १९८६ र २०२२ का विश्वकपमा सहभागिता जनाउँदा सबै खेल गुमाएको थियो। १९८६ मा तीनै खेल हारेको क्यानडाले २०२२ मा पनि तीनै खेलमा पराजय बेहोरेको थियो।
विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरुआत गरेका छन् ।
आइएमईको २६औँ वार्षिकोत्सव ः डिजिटल नवप्रवर्तनमार्फत वित्तीय सेवा थप सुरक्षित र प्रभावकारी बनाउने
काठमाडौं । आइएमई लिमिटेडले आफ्नो २६औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न गर्दै वित्तीय समावेशिता, डिजिटल नवप्रवर्तन र सुरक्षित वित्तीय सेवामार्फत देशको आर्थिक रूपान्तरणलाई थप गति दिने प्रतिबद्धता व्यक्त गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले प्रविधिको तीव्र विकाससँगै वित्तीय सेवाको स्वरूप बदलिँदै गएको उल्लेख गर्दै एआई, मेसिन लर्निङ तथा डिजिटल प्रविधिको उपयोगमार्फत ग्राहकलाई अझ परिष्कृत, सुरक्षित र छिटोछरितो सेवा प्रदान गर्ने लक्ष्य रहेको जनाए।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले वैदेशिक रोजगारीका क्रममा भोगेका अनुभवबाट जन्मिएको एउटा सानो परिकल्पना आज रेमिटेन्स सेवा मात्र नभई समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको एक भरपर्दो र अभिन्न अंगका रूपमा स्थापित भएको स्मरण गरे। उनले आइएमईले देशका दुर्गम गाउँदेखि सहरसम्म वित्तीय पहुँच विस्तार गर्दै आर्थिक समावेशिता र सामाजिक–आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याएको जनाए।
उनले बदलिँदो प्रविधिसँगै वित्तीय क्षेत्रले पनि आफूलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, ‘जसरी टेक्नोलोजीहरू परिवर्तन भइरहेका छन्, व्यवसायको स्वरूप पनि तीव्र गतिमा बदलिरहेको छ। त्यसैगरी आगामी दिनमा प्रविधिसँगै सुरक्षाको विषय पनि उत्तिकै महत्वपूर्ण छ। प्रणालीलाई कसरी अझ सुरक्षित बनाउने भन्नेमा हामी केन्द्रित हुनुपर्छ।’
उनले एआई र मेसिन लर्निङले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाइरहेको उल्लेख गर्दै ग्राहकको आवश्यकता र अपेक्षाअनुसार सेवा विकास गर्न नयाँ प्रविधिसँगै अघि बढ्नुपर्ने जनाए।
‘अहिले एआई र मेसिनहरूले कामलाई सहज बनाइरहेका छन्। त्यससँगै हामीले पनि त्यो प्रविधिसँग चल्न सिक्नुपर्ने बाध्यता छ। किनभने त्यो ट्रेन्डलाई पछ्याउन सकिएन भने ग्राहकको भावना र माग बुझ्न सकिँदैन,’ उनले भने।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले २६ वर्षअघि निजी क्षेत्रलाई विदेशी मुद्राको कारोबार गर्न अनुमति दिने निर्णय नेपाली वित्तीय क्षेत्रका लागि ऐतिहासिक मोड भएको जनाए। उनले नेपाल राष्ट्र बैंक र नेपाल सरकारले निजी क्षेत्रलाई रेमिटेन्स कारोबारको जिम्मेवारी दिनु त्यस समयको सन्दर्भमा साहसिक र अग्रगामी कदम रहेको उल्लेख गरे।
उनले भने, ‘आजभन्दा २६ वर्षअघि नेपाल राष्ट्र बैंक र नेपाल सरकारले निजी क्षेत्रलाई विदेशी मुद्राको कारोबार गर्न स्वीकृति दिएको निर्णय आफैँमा एउटा क्रान्तिकारी कदम थियो। त्यो समयको सन्दर्भमा यो निकै अग्रगामी निर्णय थियो।’
उनका अनुसार त्यतिबेला अनौपचारिक माध्यमबाट हुने ठूलो रकमको कारोबारलाई औपचारिक प्रणालीमा ल्याउने चुनौती थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कमाएको रकम सुरक्षित र भरपर्दो ढंगले आफ्ना परिवारसम्म पु¥याउने उद्देश्यले सुरु गरिएको सेवा आज देशको अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको उनले जनाए।
‘त्यो समयमा निजी क्षेत्रप्रति सबैको विश्वास थिएन। वैदेशिक रोजगारीमा गएका दाजुभाइ तथा दिदीबहिनीहरूको मेहनतको कमाइ सुरक्षित रूपमा घरपरिवारसम्म पु¥याउने संयन्त्र स्थापना गर्नु सहज काम थिएन। त्यसका लागि धेरै मेहनत, इमान्दारिता, टिमवर्क र सबैको साझेदारी आवश्यक परेको थियो,’ उनले भने।
कार्यक्रममा आइएमईको २६ वर्षे यात्राको समीक्षा गर्दै कम्पनीले रेमिटेन्स, डिजिटल भुक्तानी, बैंकिङ पहुँच विस्तार तथा वित्तीय साक्षरताको क्षेत्रमा खेलेको भूमिकाबारे चर्चा गरिएको थियो। वक्ताहरूले आगामी दिनमा नवीनतम प्रविधिको प्रयोग, ग्राहकमैत्री सेवा र सुरक्षित डिजिटल वित्तीय प्रणालीमार्फत देशको आर्थिक विकास र वित्तीय समावेशितालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा बिन्द्रा हाडा नियुक्त
काठमाडौं । ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छिन् ।
सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकले काठमाडौं १४ निवासी हाडालाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विष्णु बाँस्कोटाले जनाएका छन् ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्नेछन् ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा युवा, श्रम तथा रोजगारमन्त्रीको समेत कार्यभार सम्हालेकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ नं. ८१ पेस गर्ने कार्यसूची छ ।
मन्त्री गौरी कुमारीले नै अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ पनि पेस गर्ने संसद्को कार्यसूचीमा उल्लेख छ ।
करिब सात लाखले गरे कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
काठमाण्डौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल सात लाख ८२ हजार २०९ सदस्यहरूमध्ये पाँच लाख ३८ हजार ६२२ जनाले क्रियाशील सदस्यता प्राप्त गरेका छन् ।
एक लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेस गरी वडा सभापतिमार्फत अद्यावधिक कार्यको प्रक्रियामा रहेको कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए ।
इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा नेपाली कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने उनको भनाइ छ ।
नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्मका लागि खुला रहने कांग्रेसले जनाएको छ । जेठ २१ गते पहिलोपटक थपिएको म्याद सकिएपछि जेठ २८ गते राति १२ बजेसम्म थप गरिएको थियो ।
संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ सञ्चालन भएको क्रियाशील सदस्यता अद्यावधिक कार्यमा देशभर उत्साहजनक रूपमा अधिकांश क्रियाशील सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कांग्रेसले जनाएको छ ।
















