काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ट्राफिक कारबाहीमा परेका छन् ।
ट्राफिक नियम उल्लंघन गरेकोपछि उनी कारबाहीमा परेका हुन् । उनले केही दिनअघि भिडियो खिच्दै बाइक चलाएको भिडियो सार्वजनिक भएको थियो । एक हातले सवारी चलाउँदा उनी दुर्घटनामा समेत परेका थिए ।
ट्राफिक प्रहरीले उनलाई लापरबाही साथ सवारी चलाएको कसुरमा जरिवाना गरेको हो ।
‘सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानूनी कारबाही गरिसकेको जानकारी गराइन्छ,’ नेपाल प्रहरीले भनेको छ ।
कारबाहीमा परे हर्क साम्पाङ
वीरगन्ज महानगरपालिकाका मेयर सिंह निलम्बित
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि उनको पद स्वतः निलम्बनमा परेको हो ।
अन्य व्यक्तिकी छोरीलाई झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको आरोपमा अख्तियारले नगर प्रमुख सिंहसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–१० निवासी रीता भट्टराईकी छोरीलाई गलत विवरणका आधारमा २०७१ साल कात्तिक २० गते जन्मदर्ता गराइएको तथा सोही कागजातको आधारमा २०७५ साल साउन १३ गते नागरिकता दिलाइएको अभियोगमा मुद्दा दर्ता गरिएको हो ।
यस प्रकरणमा नगर प्रमुख सिंहसँगै वीरगन्ज महानगरपालिका वडा नं. ३ का तत्कालीन सचिव भिखारी राय, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत षड्कुमार पोखरेल, गृह मन्त्रालयका उपसचिव पुष्कर राणा, शाखा अधिकृत परशुराम पोखरेल तथा रीता भट्टराईविरुद्ध पनि मुद्दा दायर गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
विशेष अदालतमा मुद्दा दायर भएसँगै आजकै मितिदेखि मुद्दाको अन्तिम किनारा नलाग्दासम्म नगर प्रमुख सिंहलगायत सार्वजनिक पदमा रहेका आरोपित व्यक्तिहरू निलम्बनमा परेको अख्तियारले जनाएको छ ।
नक्कली छोरी प्रकरणको छानबिन गर्न गृह मन्त्रालयबाट गठन गरिएको विशेष टोलीका संयोजक उपसचिव राणा तथा सदस्य शाखा अधिकृत पोखरेलले अनुसन्धान प्रक्रियामा चलखेल गरेको आरोपमा उनीहरूविरुद्ध समेत मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार रीता भट्टराईकी छोरीका नाममा किर्ते कागजात तयार गरी जन्मदर्ता, नागरिकता तथा राहदानी बनाइएको विषयमा प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा ११, दफा १२ तथा दफा १९ को उपदफा (२) बमोजिम कसुर ठहर गरी दण्ड र सजायको माग गरिएको छ ।
माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो नेपाल–भारत–नेपाल क्रस बोर्डर ट्रान्सफर सेवा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन एमबीएल एम–स्मार्टमार्फत नेपाल–भारत–नेपाल रियल टाइम क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ ।
यस नवीन सेवाले नेपाल र भारतबीच सुरक्षित, सहज तरिकाले तत्काल व्यक्ति–देखि–व्यक्ति (पीटूपी) रकम स्थानान्तरण (ट्रान्सफर) को सुविधा प्रदान गरी दुई छिमेकी मुलुकबीचको डिजिटल वित्तीय पहुँचलाई थप सुदृढ बनाउने अपेक्षा बैंकले गरेको छ ।
यस सेवा उपयोग गरी भारतमा बसोबास गर्ने, अध्ययन गर्ने तथा काम गर्ने नेपाली नागरिकहरूले भारतमा उपलब्ध यूपीआईसँग सम्बन्धित डिजिटल भुक्तानी एप्लिकेसनहरूको प्रयोग गरी नेपालस्थित आफ्ना परिवारजन वा अन्य लाभग्राहीहरूको सहज रुपमा बैंक खातामा रकम पठाउन सक्नेछन र उक्त रकम लाभग्राहीको खातामा त्तकालै जम्मा हुने भएकाले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध हुनेछ ।
त्यसैगरी, नेपालमा बसोबास गर्ने वा नेपालमा कार्यरत भारतीय नागरिकहरूले पनि एमबीएल एम–स्मार्ट एप्लिकेसनमा उपलब्ध क्रस बोर्डर ट्रान्सफर सुविधाको प्रयोग गरी भारतमा रकम पठाउन सक्नेछन् ।
बैंकले यो सेवा सञ्चालन गर्दा सुरक्षा, पारदर्शिता तथा नियामकीय अनुपालनका उच्चतम मापदण्डहरूलाई पालनमा उच्च प्राथमिकता दिएको छ । यो पहलले नेपाल र भारतबीचको डिजिटल भुक्तानी तथा रेमिट्यान्स प्रणालीलाई थप प्रवर्द्धन गर्नुका साथै ग्राहकहरूलाई आधुनिक, सुरक्षित र सुविधाजनक बैंकिङ सेवा प्रदान गर्ने विश्वास लिइएको छ । साथै, आगामी दिनहरूमा पनि थप उच्चतम प्रविधिमैत्री तथा ग्राहक केन्द्रित वित्तीय सेवाहरू विस्तार गर्दै डिजिटल बैंकिङ क्षेत्रमा नवीनतम सेवा सुविधाहरु उपलब्ध गराउने प्रतिबद्धता समेत बैंकले व्यक्त गरेको छ ।
ग्लोबल आईएमईका क्रेडिट कार्डबाहकलाई भाटभटेनीमा बिनाकागज ईएमआई सुविधा, ब्याजदर ० प्रतिशत
काठमाडौं । ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।
डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र ग्राहकलाई आधुनिक वित्तीय सेवा दिने उद्देश्यले दुई संस्थाबीच व्यावसायिक सहकार्य सुरुवात भएको हो ।
सम्झौता बमोजिम बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले न्यूनतम १५ हजार रुपैयाँ वा सो भन्दा बढिको खरिदमा तत्कालै किस्ताबन्दी सुविधा पाउनेछन् । यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक पर्ने छैन । ग्राहकले आफूलाई अनुकूल हुने गरी ३, ६, ९, १२ वा १८ महिनासम्मको अवधि छनोट गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस किस्ताबन्दी योजनामा ग्राहकलाई कुनै पनि ब्याज वा प्रोसेसिङ शुल्क लाग्ने छैन ।
यो सुविधाबाट विशेष गरी इलेक्ट्रोनिक्स तथा ठूला सामग्रीहरु खरिद गर्ने ग्राहकहरुलाई तत्काल पर्ने आर्थिक भार कम हुने र योजनाबद्ध रुपमा भुक्तानी गर्न सहज हुने विश्वास छ ।
साथै, यस सहकार्य अन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकहरुको कारोबार इतिहास र आर्थिक व्यवहारका आधारमा विशेष ग्लोबल बिबिएसएम क्लब कार्ड (क्रेडिट कार्ड) जारी गरिने भएको छ ।
भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकहरुले आफ्नो आर्थिक वर्ष तथा पछिल्लो ३ महिनाको कारोबार इतिहासका आधारमा १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा भएको कार्ड प्राप्त गर्न सक्नेछन् । सुरुवातमा यो कार्ड बिबिएसएम तथा यसका नेटवर्कमा मात्र प्रयोग गर्न सकिनेछ ।
उक्त कार्डमार्फत् ग्राहकहरुले थप सहज भुक्तानी सुविधा, विशेष अफर, छुट तथा भविष्यमा सञ्चालन हुने विभिन्न ग्राहक लक्षित योजनाहरुको लाभ लिन सक्नेछन् ।
ग्लोबल आइएमई बैंक र भाटभटेनीबीचको यो सहकार्यले डिजिटल भुक्तानी प्रवर्द्धन, आधुनिक वित्तीय सेवाको विस्तार तथा ग्राहकलाई थप लावान्भित गर्ने उद्देश्य बैंकले लिएको छ ।
दुबै संस्थाले अगामी दिनमा संयुक्त रुपमा विभिन्न आकर्षक छुट, क्यासब्याक, रिवार्ड तथा विशेष ग्राहक केन्द्रित योजनाहरु संचालन गर्दै ग्राहकलाई थप लाभ प्रदान गर्ने योजना बनाएका छन् । यो योजनामा आईएमएस सफ्टवेयर प्रा.लि.ले प्राविधिक साझेदारको रुपमा सहकार्य गरेको छ ।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४, २०२५ र २०२६, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३४४ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखा रहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
एनएमबि बैंकद्वारा नेपाल, भारत पैसा पठाउने नयाँ सेवाको सुरुवात
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नेपालभारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ’इन्डोनेपाल पीपी रेमिट्यान्स’ सेवा सुरु गरेको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन पहिलेभन्दा धेरै सुरक्षित र सजिलो हुनेछ ।
यस नयाँ प्रविधिसँगै ग्राहकहरूले परम्परागत झन्झट र ढिलाइबाट पूर्ण मुक्ति पाउनेछन् । अब भारतबाट पैसा पठाउँदा धेरै दिन पर्खिनु पर्दैन, उताबाट पठाउने बित्तिकै एनएमबि बैंकमा रहेको तपाईंको व्यक्तिगत खातामा तुरुन्तै पैसा आइपुग्छ ।
पैसा मगाउनका लागि र पठाउन अब आफ्नो लामो बैंक खाता नम्बर अरूलाई सेयर गरिरहनु पर्ने झन्झट समेत हुनेछैन । बैंकले ग्राहकहरूको सुरक्षाका लागि एउटा सजिलो र छुट्टै भर्चुअल ठेगाना बनाइदिनेछ र यही ठेगाना मार्फत सजिलै पैसा मगाउन, पठाउन सकिनेछ ।
यो सेवालाई सबैको पहुँचमा पुर्याउन बैंकले अत्यन्तै सरल बनाएको छ । ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप वा बैंकको वेबसाइटबाट आफैं यो सेवा प्रयोग गर्न सक्ने छन् भने जुनसुकै शाखामा गएर कर्मचारीहरूको मद्दतबाट पनि यो सेवा सजिलै सुरु गर्न सक्ने छन् ।
घरखर्च वा व्यक्तिगत कामका लागि भारतबाट पैसा मगाउँदा आवश्यकता अनुसार रकम प्राप्त गर्न थप सहज हुनेछ । ग्राहकको मिहिनेतको कमाइ पूर्ण रूपमा सुरक्षित होस् र सही ठाउँमा पुगोस् भन्नका लागि बैंकको आन्तरिक प्रणालीले यसको निरन्तर निगरानी र सुरक्षा समेत गरिरहेको हुन्छ ।
एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा पाण्डेय नियुक्त
काठमाडौं । कृषि बिकास बैंक संचालक समितिको अध्यक्ष पदमा टंकप्रसाद पाण्डेय नियूक्ति भएका छन् । नवनियूक्त अध्यक्ष पाण्डेले निजामति सेवामा २५ वर्ष देखि कार्यरत रही महत्वपूर्ण अनुभव प्राप्त गरेका छन् ।
पाण्डेयसंग आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा कार्य गरेको अनुभव समेत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्ष पाण्डेलाई नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेल सपथ ग्रहण गराएका छन् ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर किरण पण्डित, कार्यकारी निर्देशकहरु क्रमशः रामु पौडेल, गुरुप्रसाद पौडेल, दीर्घबहादुर रावल, मुक्तीनाथ सापकोटा, निर्देशक मिरा ताल्चाभडेल, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव शरणकुमार अधिकारी, कृषि विकास बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल समेतको उपस्थित रहेको थियो ।
इरानद्वारा इजरायलमाथि ब्यालिस्टिक मिसाइल प्रहार, ट्रम्पले भने– अब एकअर्कामाथि आक्रमण नगरौँ
काठमाडौं । इरानले आइतबार राति इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । इरानका अनुसार यो आक्रमण बेरुतमा भएको इजरायली आक्रमणको बदला लिने उद्देश्यले गरिएको थियो जसमा दुई जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए।
इजरायलका अनुसार अप्रिलमा युद्धविराम भएयता इरानले इजरायलमाथि पहिलोपटक क्षेप्यास्त्र आक्रमण गरेको हो ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिका र इजरायललाई चेतावनी दिएको छ । आईआरजीसीले थप कुनै पनि आक्रमण भएमा अमेरिकी र इजरायली लक्ष्यहरूलाई लक्षित गरिने जनाएको हो ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायललाई एकअर्कामाथि आक्रमण नगर्न अपील गरेका छन् ।
फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘अब पुग्यो । म अहिले नै नेतान्याहूलाई फोन गर्नेछु र बदला नलिन भन्छु ।’
एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले आज (सोमबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।
फाइनल खेल आज नेपाली समय अनुसार अपरान्ह १२ः१५ बजेदेखि सुरु हुनेछ ।
नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो भने हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
त्यस्तै, आजै सेमिफाइनलमा पराजित भएका ओमान र मलेसिया तेस्रो स्थानका लागि खेल्दैछ । तेस्रो स्थानको खेल बिहान ७ः१५ बजेदेखि सुरु हुनेछ ।
सेमिफाइनलमा पुगेको चारै देश नेपाल, हङकङ, ओमान र मलेसिया एसियन गेम्सका लागि छनोट भइसकेको छ ।
रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक
काठमाण्डौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
सोमबार बिहान ९ बजे संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा बस्ने गरि बैठक बोलाइएको हो ।
संसदमा सत्तापक्ष र प्रतिपक्षबीच टकराव र सांसदहरूबीच पनि छेडखानी तथा आरोप–प्रत्यारोप चलिरहेका बेला रास्वपाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बोलाएको हो ।
सरकार र विपक्षी दलहरूको टकराव तथा लगातार सदन अवरोधकाबीच रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेका हुन् ।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष–सभापतिसहित दुईजनालाई सहभागिताका लागि आमन्त्रण गरिएको छ ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक आह्वान गरेको जनाए । उनले पछिल्ला घटनाक्रमसहित समग्र समसामयिक विषयमा छलफलका लागि सभापतिले बैठक आह्वान गरेको जनाए ।
संसद बैठक १८ जेठमा स्थगित बैठक सोमबार बस्दै छ । बैठकअगावै प्रतिपक्षसँग बढेको दूरी कम गरी संसद् बैठक सुचारु गर्ने काममा सहजीकरण गर्ने उद्देश्यले लामिछानेले बैठक बोलाएका हुन् ।
त्यसक्रममा उनले आफ्नो भारत भ्रमणलगायत समसामयिक राजनीतिक विषयमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई जानकारीसमेत दिने उद्देश्य रहेको छ ।
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस–बोर्डर पर्सन–टु–पर्सन रेमिट्यान्स सेवा सञ्चालन
काठमाडौं । नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस–बोर्डर पर्सन–टु–पर्सन (पीटूपी) रेमिट्यान्स सेवा सुरु गरेको छ । यस सेवामार्फत ग्राहकहरूले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्नेछन् ।
यस सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकहरूले अब आफ्नो मोबाइल बैंकिङ एप ‘एनबैंक’ प्रयोग गरी भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाई तत्काल पैसा पठाउन सक्नेछन् ।
त्यस्तै, नेपाली तथा भारतीय दुवै नागरिकहरूले नेपालमा रहेका नबिल बैंक प्रयोगकर्ताहरुलाई सजिलै र छिटो रकम पठाउन सक्ने व्यवस्था गरिएको छ ।
बैंकका अनुसार यो सेवा दुवै देशका ग्राहकका लागि सीमापार भुक्तानीलाई सरल, सुरक्षित र सहज बनाउन डिजाइन गरिएको हो ।
“यो सेवा सीमापार भुक्तानीलाई छिटो र सहज बनाउने दिशामा महत्वपूर्ण कदम हो । यसले नेपाल र भारत दुवै देशमा डिजिटल बैंकिङ सेवा सुधार गर्ने तथा ग्राहक सुविधालाई विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले भने ।
बैंकले सेवाको प्रयोगमा नियामकीय व्यवस्था र सहजता दुवैलाई ध्यानमा राख्दै सीमा तोकिएको छ । नेपालबाट भारततर्फ रकम पठाउँदा ग्राहकले दैनिक अधिकतम १५ हजार भारतीय रुपैयाँ र मासिक अधिकतम १ लाख भारतीय रुपैयाँसम्म पठाउन सक्नेछन् ।
त्यस्तै, भारतबाट नेपालतर्फ दैनिक अधिकतम २ लाख भारतीय रुपैयाँसम्म रकम पठाउन सकिनेछ भने मासिक सीमा लागू हुने छैन । यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेसको सहकार्यमा सञ्चालन गरिएको हो, जसले दुई देशबीच सुरक्षित तथा सहज डिजिटल लेनदेन सुनिश्चित गर्नेछ ।
नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।
















