काठमाडौं । धादिङमा पहिरोको जोखिम भएपछि पृथ्वी राजमार्गमा रातभरि रोकिएका सवारीसाधन बिहानबाट खुलेका छन् । रातभरि जाममा रहेका सवारीसाधन अहिले बाहिरिने र भित्रिने क्रम सुरु भएपछि नागढुंगामा चाप बढेको छ ।
उपत्यका ट्राफिक प्रमुख सुरेश काफ्लेले रातभरि पहिरो जान सक्ने जोखिम देखिएकाले गाडी रोकिएको जानकारी गराउँदै अहिले खुलिसकेको जनाए ।
उनका अनुसार खुले पनि दुवैतर्फ सवारीको चाप देखिएको छ । ट्राफिक प्रहरी ठाउँ ठाउँमा खटिएकाले सबै सवारीसाधन केही समयमा ‘क्लियर’ हुने उनले जनाए ।
पहिरोको जोखिममा रातभरि रोकिएका सवारी खुला, नागढुंगामा चाप
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठुलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको जनाईन्छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।
त्यसैगरी, ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत उनका कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।
आदिकविको स्मरण गर्दै आज उनको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदैछन् । भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद्लगायत सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाउने गरिएको छ ।
वर्षा र पहिरोले विभिन्न राजमार्गहरु ठप्प
काठमाण्डौं । बाढी र पहिरोका कारण देशमा विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार सोमबार बिहानसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण राजमार्गहरू अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुँदा यातायात सञ्चालन प्रभावित भएको छ ।
कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्गमा असार १२ गते बाढी आएपछि सडक एकतर्फी सुचारु भएको छ भने त्यहाँ अर्को वैकल्पिक बाटो पनि सञ्चालनमा छ।
यस्तै इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भने असार २३ गतेदेखि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यहाँ हाल वैकल्पिक बाटो चलिरहेको छ।
बागमती प्रदेशमा सम्भावित बाढीका कारण असार २२ गतेदेखि नै काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने वीपि राजमार्गमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ (ललितपुरदेखि हेटौँडा) असार २७ गतेदेखि र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग असार २९ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
यसैगरी गण्डकी प्रदेशअन्तर्गत कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा ताङतिङ सडक खण्ड असार २७ गते खसेको पहिरोका कारण पूर्ण रूपमा बन्द छ भने लुम्बिनी प्रदेशका विभिन्न चार जिल्लामा पहिरोले सडक अवरोध पुर्याएको छ।
रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङस्थित घोराही–रुकुम शहीद मार्ग र अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोलास्थित सालझन्डी ढोरपाटन सडक खण्ड असार २८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छन्।
गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेस्थित मदन भण्डारी राजमार्ग असार २९ गतेदेखि पूर्ण रूपमा बन्द भएको छ।
पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्सस्थित सिद्धार्थ राजमार्ग भने असार २८ गते पहिरो गए पनि हाल एकतर्फी रूपमा सुचारु रहेको छ।
बैंककको नाइट क्लबमा भीषण आगलागी, २७ जनाको मृत्यु
काठमाडौं । सोमबार बिहान सबेरै थाइल्यान्डको राजधानी बैंककस्थित एक नाइट क्लबमा भीषण आगलागी हुँदा २७ जनाको ज्यान गएको छ भने ६३ जना घाइते भएका छन् ।
समाचार संस्था एपीका अनुसार थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुल घटनास्थलमा पुगेका थिए ।
उनले घटनास्थलमा पत्रकारहरूलाई जनाए अनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ र घाइते भएकाहरूलाई अस्पताल भर्ना गरिएको छ । उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाए ।
उनका अनुसार पबमा रहेका एक म्युजिसियनले सुरुमा मञ्च नजिकैको सर्किट ब्रेकरबाट धुवाँ निस्किरहेको देखेका थिए । त्यसको केही क्षणमै बत्ती गयो, लगत्तै विस्फोटजस्तो आवाज आयो र पूरै हल कालो धुवाँले भरियो । अन्धकार यति बाक्लो थियो कि मानिसहरूले एकअर्कालाई देख्न समेत सकेनन् । बाहिर निस्कने प्रयास गर्दा भागदौड मच्चिएको थियो ।
घटनापछि ६३ जनालाई अस्पताल लगिएको छ । तीमध्ये २२ जनाको अवस्था गम्भीर रहेको जनाईएको छ । कतिपय घाइतेहरु अचेत अवस्थामा फेला परेकाले प्रशासनलाई उनीहरूको पहिचान गर्न कठिनाइ भइरहेको छ ।
आगो नियन्त्रणमा लिन करिब ३० मिनेट लागेको थियो ।
सन् २०२२ मा थाइल्यान्डको पूर्वी भागमा रहेको एक म्युजिक पबमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २००९ को जनवरी १ मा बैंककको सान्टिका नाइट क्लबमा नयाँ वर्षको उत्सव मनाउने क्रममा लागेको आगोमा परी ६६ जनाको ज्यान गएको थियो र २०० भन्दा बढी घाइते भएका थिए । उक्त घटना भवनभित्र पड्काइएका आतिशबाजीका कारण भएको थियो ।
थाइल्यान्ड आफ्नो नाइट लाइफ (रात्रिकालीन मनोरञ्जन) का लागि प्रख्यात छ । विश्वभरबाट लाखौं पर्यटक हरेक वर्ष थाइल्यान्डको भ्रमण गर्छन् ।
आज यी ५ प्रदेशमा अति भारी वर्षा हुने, काठमाण्डौंसहितका ४ जिल्लामा ‘ओरेन्ज अलर्ट’ जारी
काठमाण्डौं । आज (आइतबार) देशका २३ जिल्ला र त्यसआसपासका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै २३ जिल्लामा बाढीको जोखिम रहेकाले सम्बन्धित जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको हो ।
आज काठमाण्डौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकलाई सुन्तला रङ दिँदै आज यी जिल्ला र आसपास बाढीको उच्च जोखिम रहेको जनाएको छ।
यस्तै आज पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना छ।
महाशाखाले उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ।
हरियो रङ जलसतह सतर्कता तहभन्दा तलै रहने र बाढीको न्यून जोखिम हुने संकेत हो भने पहेलो रङले जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिमको संकेत गदर्छ यस्तै सुन्तला रङले जलसतहले सतर्कता तह पार गर्ने र बाढीको उच्च जोखिम रहेको संकेत गर्छ। रातो रङले चाहिँ नदीको जलसतहले खतरा तह पार गर्ने र बाढीको उच्च जोखिम हुने संकेत गर्छ।
अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन ः महामन्त्री पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा वास्तविक परिवर्तनका लागि सतही काम गरेर मात्र नपुग्ने जनाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले अस्पताल फार्मेसीको बोर्ड मात्र परिवर्तन गरेर नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम हुने अवस्था नरहने टिप्पणी गरेका हुन्। उनले स्वास्थ्य क्षेत्रको रूपान्तरणका लागि दीर्घकालीन योजना र व्यावहारिक समाधानको खाँचो रहेको औँल्याएका छन्।
नेता पौडेलले आफू मन्त्रालयको जिम्मेवारीमा रहँदा आम नागरिकलाई सस्तो र सुलभ मूल्यमा औषधि उपलब्ध गराउन महत्त्वपूर्ण नीतिगत आधारहरू तयार पारेको दाबी गरेका छन्। उनले देशभर औषधिको समान मूल्य कायम गर्न र आपूर्ति सहज बनाउन सेन्ट्रल बिडिङ लोकल पर्चेजिङ सञ्चालन तयारी गरिएको स्मरण गराएका छन विज्ञहरूमार्फत जेनेरिक औषधिको मूल्य निर्धारण र औषधिको मूल्य समायोजन सम्बन्धी नीतिगत व्यवस्थाका लागि हामीले अध्ययन प्रतिवेदन तयार पारेका थियौँ, पौडेलले भनेका छन् साथै औषधि, स्वास्थ्य सामग्री, कस्मेटिक तथा अतिरिक्त खाद्य पोषण नियमनका लागि नयाँ विधेयक र मूल्य कायम गर्ने निर्देशिका समेत तयार गरी रायका लागि पठाइएको थियो।
नेता पौडेलले बजेटको समयमा आफूले आवश्यक व्यवस्थापन गरे पनि पछिल्लो समय ती महत्त्वपूर्ण कामहरू ओझेलमा परेकोमा चासो व्यक्त गरेका छन्। उनले स्वास्थ्य क्षेत्रमा नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
विश्वकप फुटबल ः अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्याण्ड बाहिरियो
काठमाण्डौं । स्विट्जरल्याण्डलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अतिरिक्त समयमा थप गोल गर्दै स्विट्जरल्याण्डविरुद्ध ३–१ गोलले अर्जेन्टिना विजयी भएको हो।
खेलको सुरुवाती पाँच मिनेट स्विट्जरल्यान्डले अर्जेन्टिना विरुद्ध दबाब बनाएको थियो। त्यसपछि भने अर्जेन्टिना आफ्नो लयमा फर्कियो। खेलको १० औं मिनेटमा अर्जेन्टिनाले अग्रता बनायो। लियोनल मेसीले प्रहार गरेको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडरमार्फत गोल गरेका थिए।
११२ औं मिनेटमा जुलियन अल्भारेज गोल गरेपछि स्विट्जरल्याण्डविरुद्ध अर्जेन्टिना २–१ गोलले अगाडि रहेको थियो।
त्यसअघि, अर्जेन्टिनाविरुद्ध स्विट्जरल्याण्डले गोल फर्काएपछि खेल बराबरी गोलमा टुंगिएको थियो। त्यसपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो।
सुरुवाती अग्रता लिँदै खेलिरहेको अर्जेन्टिनाविरुद्ध स्विट्जरल्याण्डले गोल फर्काएर खेललाई बराबरीमा ल्याएको थियो। खेलको ६७औं मिनेटमा डान एनडोयेले स्विट्जरल्याण्डका लागि गोल फर्काएका थिए।
यसअघि, खेलको १० औं मसिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै, खेलको ७२ औं मसिनेटमा ब्रेल एम्बोलोले रेड कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।
अब सेमिफाइनलमा अर्जेन्टिनाको भेट इंग्याल्ण्डसँग हुने छ ।
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राति बाढी पस्यो, सुकुम्बासी समस्यामा
काठमाडौँ । लगातार परेको अविरल वर्षाका कारण कीर्तिपुरस्थित बागमती नदीमा आएको बाढीले राधास्वामी सत्संग परिसरमा रहेको होल्डिङ सेन्टर जलमग्न बनेको छ।
शुक्रबार रातिदेखि बढेको नदीको बहाव सेन्टरभित्र प्रवेश गरेपछि त्यहाँ अस्थायी रूपमा बसोबास गर्दै आएका सुकुमबासी परिवारहरू गम्भीर समस्यामा परेका छन् ।
अचानक बाढीको पानी तीव्र रूपमा सेन्टरभित्र पस्दा उनीहरूले आफ्ना लत्ताकपडा, सरसामान र अन्य आवश्यक सामग्री सुरक्षित राख्ने अवसरसमेत पाएनन् । ज्यान जोगाउने प्रयासमा उनीहरू हतारिँदै कीर्तिपुरको मुख्य सडकसम्म पुग्न बाध्य भएका छन् ।
बाढीका कारण खाद्यान्न, ओछ्यान, लुगाफाटा तथा दैनिक उपभोगका सामग्री पानीमा डुबेर नष्ट भएका छन्। यससँगै प्रभावित परिवारहरू खुला आकाशमुनि बस्नुपर्ने अवस्था सिर्जना भएको छ।
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? ः शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारद्वारा घरबारविहीन बनाइएका सुकुमबासी र अव्यवस्थित बसोबासीहरूको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले आमसञ्चार माध्यमहरूमा सार्वजनिक भएका सुकुमबासीका पीडाहरू अत्यन्तै हृदयविदारक र संवेदनशील रहेको उल्लेख गरेका हुन्।
महासचिव पोखरेलले एकातिर नागरिकलाई उठिबास लगाउनु र अर्कोतिर सरकार आफैँले स्थापना गरेका होल्डिङ सेन्टरहरू समेत व्यवस्थापन गर्न नसकेर खाली गर्न लगाउनुले अमानवीयताको हद पार गरेको जनाएका छन्। त्यहाँ आश्रित नागरिकलाई गाँस र पानीसमेत बन्द गरिएको तथा सुरक्षित भनिएका होल्डिङ सेल्टरहरू नै डुबानमा परेका समाचार आइरहेको भन्दै उनले सरकारको आलोचना गरेका छन्।
असुरक्षित र अनधिकृत क्षेत्रमा बसेका सुकुमबासीहरूलाई हटाउनुपूर्व उनीहरूको उचित व्यवस्थापन र पुनर्स्थापना गर्नु राज्यको पहिलो दायित्व भएको उनले स्मरण गराएका छन्। बस्तीबाट हटाउने समयमा प्रधानमन्त्रीबाट आकर्षक प्रतिबद्धता सार्वजनिक भए पनि व्यवहारमा त्यस्तो केही नदेखिएको उनको भनाइ छ। सुकुमबासी बस्ती खाली गर्नुलाई नै बहादुरी ठानिएका कारण अहिले विस्थापितहरूको अवस्था निकै जटिल बन्दै गएको उनले जनाएका छन्।
सरकारले समयमै आफ्ना कमजोरी र त्रुटिहरूलाई सुधार गर्दै विस्थापितहरूको न्यायोचित व्यवस्थापनमा अविलम्ब ध्यान दिनुपर्ने माग पोखरेलले गरेका छन्। नागरिकलाई त्रासमा राखेर र सास्ती दिएर नभई उनीहरूको सुरक्षित आवास र बाँच्न पाउने हकको सम्मान गरेर मात्र कानुनी राज्यको मर्यादा जोगाउन सकिने उनको तर्क छ।
नेपाली समाजले गणेश नेपालीको जस्तै फेरि अर्को कुनै अप्रिय घटना सुन्नु नपरोस् भन्दै उनले त्यसतर्फ सरकारको समयमै ध्यान जानुपर्ने कुरामा जोड दिएका छन्।
अमेरिकी सेना इरानमाथि १,००० क्षेप्यास्त्र प्रहार गर्न तयार छ ः ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्न १,००० वटा क्षेप्यास्त्र (मिसाइल) पूर्ण रूपमा तयार पारिएको जनाएका छन् ।
शनिबार ट्रुथ सोसलमा लेख्दै उनले इरानले आफ्नो हत्या गर्ने प्रयास गरे त्यसलगत्तै इरानमाथि हजारौं क्षेप्यास्त्रहरू प्रहार गरिने चेतावनी दिएका हुन् ।
‘यसका लागि आवश्यक आदेशहरू दिइसकेको छु र अमेरिकी सेना इरानका सम्पूर्ण क्षेत्रहरूलाई पूर्ण रूपमा ध्वस्त पार्न तयार छ ।’ ट्रम्पले लेखेका छन् ।
















