काठमाडौं । श्रीमतीको हत्या आरोपमा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर र उनकी प्रेमिका प्रतिक्षा आचार्यलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बिहीबार उक्त आदेश दिएको हो। यस्तै अदालतले प्रतिवादी विक्रम थापा मगर र पुजन थापा क्षेत्रीलाई भने जनही १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
‘नेपाली ब्रो’ ले गत जेठ २२ गते घाँटी रेटेर ४२ वर्षिया श्रीमती ईश्वरी भुजेलको हत्या गरेका थिए ।
‘नेपाली ब्रो’ र प्रेमिका प्रतिक्षालाई थुनामा पठाउन अदालतको आदेश
एमाले उपाध्यक्ष पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज, अब थुनामै बस्नुपर्ने
काठमाण्डौं । सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
न्यायाधीशद्वय विनोदकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार रिट खारेज गरेको हो । यससँगै अब पौडेलले मुद्दाको अनुसन्धानको सिलसिलामा प्रहरी थुनामा बस्नुपर्ने भएको छ ।
पौडेलकी श्रीमती दोमाया पौडेलले गैरकानुनी थुनामा राखिएको भन्दै असार १० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएकी थिइन् ।
पौडेललाई थप ६ दिन अनुसन्धानका लागि थुनामा राख्न विशेष अदालतले बिहीबार अनुमति दिएको छ । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले असार ८ सुर्खेतबाट पक्राउ गरेको थियो ।
आयल निगममा ओभरटाइम भत्तामा कडाइ, वार्षिक १३ करोड खर्च कटौती गर्ने तयारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) का नाममा दिइँदै आएको भत्ता कटौती गर्ने तयारी अघि बढाएकी छन्।
निगममा ओभरटाइम भत्ताका नाममा भइरहेको करोडौँ रुपैयाँको खर्च तथा त्यससँग जोडिएका अनियमितता नियन्त्रण गर्ने उद्देश्यले मन्त्री यादवले यस्तो पहल थालेकी हुन्। यसका लागि नेपाल आयल निगमको कर्मचारी प्रशासन नियमावली, २०६३ अन्तर्गत ‘सेवा सुविधा’ शीर्षकमा रहेको अतिरिक्त कार्यभत्तासम्बन्धी व्यवस्थालाई पुनर्संरचना गर्ने गृहकार्य अघि बढाइएको मन्त्रालय स्रोतले जनाएको छ।
हाल निगममा ओभरटाइम भत्ताका रूपमा मात्रै वार्षिक करिब १३ करोड रुपैयाँ खर्च हुने गरेको तथ्यांक छ। मन्त्री यादवले यस्तो खर्चले संस्थामाथि अनावश्यक आर्थिक भार परेको र वित्तीय अनुशासन कमजोर बनाएको निष्कर्ष निकाल्दै त्यसलाई नियन्त्रण गर्ने निर्णय लिएकी हुन्।
तयारी भइरहेको नयाँ व्यवस्थाअनुसार कर्मचारीलाई अतिरिक्त कार्यभत्ता उपलब्ध गराउनुको सट्टा कार्य प्रकृति र सेवाको आवश्यकताका आधारमा सिफ्ट प्रणाली लागू गरिनेछ। यसबाट नियमित समयमै सेवा सञ्चालन हुने, अतिरिक्त भत्तामा हुने खर्च घट्ने तथा जनशक्ति व्यवस्थापन थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार सिफ्ट प्रणाली लागू भएपछि निगमको प्रशासनिक खर्चमा उल्लेखनीय बचत हुने विश्वास गरिएको छ। साथै संस्थाभित्र पारदर्शिता, वित्तीय अनुशासन र खर्च नियन्त्रणलाई थप मजबुत बनाउने उद्देश्यका साथ आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइएको छ।
नेपाल टेलिकमका सिमकार्ड लगायतका सामग्री अब हुलाक सेवामार्फत ग्राहककै घरमा
काठमाडौं । नेपाल टेलिकमद्वारा ग्राहकलाई उपलब्ध गराइने सिमकार्ड लगायत अन्य कागजात, चिठीपत्र, दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायतका सामग्रीहरु हुलाक सेवामार्फत ढुवानी हुने भएको छ । यस अनुसार अब नेपाल टेलिकमका सेवाग्राहीले चाहेमा कम्पनीका सिमकार्ड लगायतका अन्य सामग्री सेवाग्राहीको घरैसम्म हुलाकमार्फत उपलब्ध हुनेछ ।
यस सम्बन्धी नेपाल टेलिकम र हुलाक सेवा विभागबीच आज सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आगामी साउन १ देखि हुलाक सेवा विभागमार्फत नेपाल टेलिकमका सिमकार्ड लगायत अन्य सामग्रीहरु ढुवानी गरिने छ ।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागको तर्फबाट महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा निमित्त प्रबन्ध निर्देशक डंगोलले नेपाल टेलिकमले सेवाग्राहीलाई कम्पनीको कार्यालयमा उपस्थित नभएरै पनि विभिन्न सेवा उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिइरहेको र त्यसतर्फको यो अर्को महत्वपूर्ण कदम भएको जनाईन । उनले नेपाल टेलिकम र हुलाक सेवा विभाग बिचको यो सहकार्यबाट कम्पनीका सेवाग्राहीहरु लाभान्वित हुने विश्वास व्यक्त गरिन् ।
हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले जनताको घरदैलोमा सेवा पुर्याउने सरकारी लक्ष्यलाई व्यवहारमा लागु गर्नका लागि विभागले विभिन्न कार्य गरिरहेको बताउँदै त्यसतर्फको यो अर्को कदम भएको जनाईन । उनले आगामी दिनमा नेपाल टेलिकमका सेवाग्राहीलाई अझै प्रभावकारी रुपमा सेवा प्रदान गर्न विभाग र कम्पनी बिचको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गरिन् ।
सरकारी स्वामित्वका दुई ठूला संस्थाहरूबीच भएको यस सहकार्यले हुलाक सेवाको देशव्यापी सञ्जालको उपयोग गर्दै नेपाल टेलिकमको सेवा प्रवाहलाई अझ बढी प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउने विश्वास लिइएको छ ।
सानिमा बैंकद्वारा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण
काठमाडौं । सानिमा बैंकले देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण गर्ने कार्य सम्पन्न गरेको छ ।
गर्भावस्था तथा सुत्केरी अवस्थामा देखिन सक्ने पोषणको अभाव, रक्तअल्पता र अन्य स्वास्थ्य जटिलताहरुबाट आमा तथा नवजात शिशुहरुलाई जोगाउन र यसको न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यका साथ बैंकले यो कार्यक्रम आयोजना गरेको हो ।
यस अभियान अन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न नगरपालिका, गाँउपालिका तथा वडा कार्यलयसंग समन्वय गरी करीब १०५० गर्भवती तथा सुत्केरी महिलाहरुलाई प्रत्यक्ष सेवा प्रदान गरेको छ ।
शिविरमा सहभागी गर्भवती तथा सुत्केरी महीलाहरुको स्वास्थकर्मीहरुद्धारा आवश्यक स्वास्थ्य जाँच गरिनुका साथै उनिहरुलाई ३ महिनाका लागि पुग्ने स्वास्थ्यप्रवद्र्धक पौष्टिक खाध सामाग्रीहरु वितरण गरिएको थियो ।
बैंकले भविष्यमा पनि समाजका लक्षित वर्गमा सकारात्मक प्रभाव पर्ने किसिमका क्रार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।
सानिमा बंैकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
युनाइटेड अजोडको अवितरित हकप्रद शेयर लिलामीमा, सबैले किन्न पाउने
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित संस्थापक समूहतर्फको ६३ हजार ८४७ कित्ता हकप्रद शेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको छ।
कम्पनीले १००ः१० को अनुपातमा हकप्रद शेयर निष्काशन गरी बाँडफाँड गर्दा बाँकी बसेको उक्त शेयर जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलामीमा राख्दा साविकका संस्थापक शेयरधनीबाट बोलपत्र नपरेपछि सबैले किन्न पाउने गरी पुनः लिलामीमा राखेको हो।
यसमा असार २५ गते बिहीबारदेखि साउन १ गते शुक्रबारसम्म बोलपत्र पेश गर्नु पर्नेछ। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र सोभन्दा बढीमा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन्।
बोलपत्र फाराम कमलपोखरीस्थित एलएस क्यापिटल (बिक्री प्रबन्धक) का साथै लक्ष्मी सनराइज बैंकका विराटनगर–हनुमानदास सडक, वीरगञ्ज–आदर्शनगर, जनकपुर–भानुचोक, हेटौंडा–पारिजात पथ, नारायणघाट–बालकुमारी चोक, पोखरा–न्यूरोड, बुटवल–मिलनचोक, नेपालगञ्ज–न्यूरोड, वीरेन्द्रनगर–वीरेन्द्रचोक र धनगढी–शहीदगेट स्थित शाखा कार्यालयमा प्राप्त गर्न र बुझाउन सकिनेछ।
अमेरिका पनि पुग्यो अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो
काठमाण्र्डां । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सहआयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध जित निकाल्दै अन्तिम १६ मा पुगेको छ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियम सम्पन्न खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध २–० गोल अन्तरले जित निकालेको हो।
खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले गरेको गोलले अमेरिकाले अग्रता कायम गरेको थियो। यस्तै खेलको ४५औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यस अब अन्तिम १६ मा अमेरिकाको सामना बेल्जियमसँग हुनेछ।
कालापानी र सुस्ता क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सिमांकन गरेको छैन ः परराष्ट्रमन्त्री खनाल
काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच कुनै सम्झौता नभएको जनाएका छन् ।
राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त चर्चामा कुनै सत्यता नभएको जनाएका हुन् ।
उनले भने उनले भने, ‘मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु । यो क्षेत्रमा खानी उत्खनन सम्बन्धी कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको छैन ।’
नेपालको संविधान २०७२ को धारा २८९ को प्राकृतिक स्रोत तथा त्यसको उपयोग सम्बन्धमा भएको व्यवस्थाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको उनले जनाए ।
उनले भने, ‘नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तको प्रतिकूल हुने गरी कुनै पनि सम्झौताहरू नगर्ने विषय स्पष्ट पार्न चाहन्छु, नेपालको खानी विभागले यस विषयमा आवश्यक कदमहरू चाल्नेछ ।’
यस्तै उनले नेपाल र भारत बीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भू–भागको सिमांकनका विषय टुङ्ग्याइसकेको जनाउँदै लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सिमांकन नगरेको जनाए ।
उनले भने, ‘ती क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सिमांकन गरेको छैन । त्यो सत्य हो, त्यो तथ्य हो । तर हामी स्पष्ट छौँ, ती भूभागहरू नेपालकै हो। हामीसँग ऐतिहासिक आधार, प्रमाण र नक्साहरू छन् ।‘यही कुरा मैले भारतका समकक्षीसँग भेट्दा पनि राखेको छु । हामीबीच भएका केही विभेद हुनु स्वाभाविक हो, तर ऐतिहासिक तथ्य प्रमाणको आधारमा हामी कूटनीतिक वार्ताबाट यो विवाद समाधान गर्न चाहन्छौँ भनेर मैले भनेको पनि छु ।’
आलुको परिकारमा साङ्ला भेटिएपछि अडोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना
काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अडोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको उजुरीपछि गरिएको आकस्मिक बजार अनुगमनमा खाद्य सुरक्षा मापदण्ड उल्लंघन भएको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार आलुको परिकारमा साङ्ला भेटिएको भन्दै व्हाट्सएपमार्फत उजुरी प्राप्त भएपछि विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बुधबार अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा एक लिटरका तीन बोतल फ्रुट सिरपको उपभोग्य मिति सकिएको, करिब तीन किलो लेबलविहीन चाउमिन प्रयोग गरिएको, कृत्रिम खाद्य रङ प्रयोग भएको, प्रयोगपछि राखिएको करिब एक लिटर तेलको टोटल पोलार मेटेरियल (टिपिएम) मान ३३ रहेको तथा फ्रिजको प्रयोग समेत अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ ।
अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अडोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।
विभागका अनुसार म्याद गुज्रिएका खाद्य सामग्री थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
त्यस्तै, उच्च टिपिएम मान भएको करिब एक लिटर प्रयोग गरिएको तेल र लेबलविहीन करिब तीन किलो चाउमिन नष्ट गरिएको छ । विभागले अडोरा होल्डिङलाई खाद्य स्वच्छता कायम गर्न, खाद्य सुरक्षा मापदण्ड पालना गर्न तथा फ्रिजको प्रयोग व्यवस्थित गर्न निर्देशन समेत दिएको जनाएको छ ।
रास्वपाको दाबी– १८ वर्षमुनिका सदस्य रहेको समाचार भ्रामक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कलाई आधार बनाएर १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार जारी विज्ञप्तिमार्फत रास्वपाले सार्वजनिक भएको तथ्याङ्क अन्तिम रूपमा प्रमाणीकरण भएका सदस्यको नभई डिजिटल प्रणालीमा रहेका प्रारम्भिक सदस्यता आवेदन ९सेल्फ–डिक्लेर्ड एप्लिकेसन डाटा०को समष्टिगत विश्लेषण मात्र भएको स्पष्ट पारेको छ । पार्टीले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, बालबालिकासम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा सदस्यका रूपमा सहभागी गराउने नीति, अभ्यास वा उद्देश्य नरहेको जनाएको छ ।
रास्वपाका अनुसार डिजिटल सदस्यता प्रणालीमा सदस्यता आवेदन, प्रमाणीकरण र अन्तिम स्वीकृति छुट्टाछुट्टै प्रक्रिया हुन् । एप वा वेबसाइटमार्फत जोसुकैले आवेदन दिन सक्ने भए पनि नागरिकता लगायतका आधिकारिक कागजातका आधारमा उमेर र राष्ट्रियता प्रमाणीकरण भएपछि मात्रै सदस्यता स्वीकृत हुने व्यवस्था रहेको छ ।
पार्टीले आवेदनका क्रममा आवेदकले स्वयं विवरण प्रविष्ट गर्ने भएकाले विक्रम संवत् र ईस्वी संवत् पात्रो छनोटमा त्रुटि, जन्ममिति टाइप गर्दा भएको गल्ती वा जन्ममितिको सट्टा हालको मिति राखिएका कारण केही आवेदकको उमेर वास्तविकभन्दा कम देखिएको प्रारम्भिक समीक्षाबाट खुलेको जनाएको छ ।
रास्वपाका अनुसार हाल डिजिटल प्रणालीमा ५ लाख २३ हजार ४६५ सदस्यता आवेदन दर्ता भएका छन् । तीमध्ये ३ लाख ९० हजार ११२ जनाको विवरण नागरिकता लगायत आधिकारिक कागजातका आधारमा प्रमाणीकरण भइसकेको छ भने बाँकी आवेदन प्रमाणीकरणकै प्रक्रियामा रहेका छन् ।
यस घटनापछि पार्टीले सदस्यता प्रणालीको प्राविधिक तथा प्रशासनिक समीक्षा सुरु गरेको जनाएको छ । अब १८ वर्षभन्दा कम उमेर देखिने आवेदनलाई प्रणालीबाटै स्वतः रोक्ने, प्रमाणीकरण भएका विवरणको पुनः परीक्षण गर्ने, विक्रम संवत् र ईस्वी संवत्सम्बन्धी त्रुटि न्यूनीकरणका लागि थप प्राविधिक व्यवस्था गर्ने तथा बाँकी सबै आवेदन आधिकारिक कागजातका आधारमा पुनः प्रमाणीकरण गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले पर्याप्त परीक्षण र प्रमाणीकरण नहुँदै प्रारम्भिक आवेदनका कच्चा तथ्याङ्क महाधिवेशनको सार्वजनिक प्रतिवेदनमा समावेश हुँदा आमनागरिक, सञ्चारमाध्यम र सरोकारवालामा भ्रम सिर्जना भएको स्वीकार गर्दै त्यसप्रति दुःख व्यक्त गरेको छ । साथै, सम्पूर्ण विवरण पुनः परीक्षण गरी संशोधित तथा अद्यावधिक सदस्यता तथ्याङ्क यथाशीघ्र सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाएको छ । पार्टीले विधिको शासन, संविधानको सर्वोच्चता, सुशासन, पारदर्शिता तथा प्रचलित कानुनको पूर्ण पालनाप्रति आफू सदैव प्रतिबद्ध रहेको पुनः स्पष्ट गरेको छ ।
















