काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दै छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।
मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।