काठमाण्डौं । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दाबारे आज पनि कुनै आदेश दिएन ।
उक्त मुद्दा बुधवार पेशीमा चढेपनि कुनै आदेश नआएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
बुधवार आदेश नआउनुको कारण भने उनले खुलाउन चाहेनन् ।
उक्त मुद्दा प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा पेश भएको थियो ।
यसअघि पनि निर्णय सुनाउने प्रयोजनका लागि पेशी तोकिँदै आएपनि पटक पटक सर्ने गरेको थियो ।
पूर्वसभामुख समेत रहेका सापकोटा आफ्नो पतिको हत्यामा संलग्न भएकाले ज्यान मुद्दामा अघि बढाउनुपर्ने माग राखी काभ्रेपलाञ्चोककी पूर्णिमाया लामाले सर्वोच्चमा रिट निवेदन दर्ता गरेकी थिइन् ।
उनका पति अर्जुन लामा काभ्रेको श्रीकृष्ण माविबाट २०६२ वैशाख १६ गते अपहरणमा परेका थिए । पछि असारको दोस्रो साता बूढाखानी क्षेत्रमा उनको शव फेला परेको थियो ।
यस प्रकरणमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पूर्णिमायाले सर्वोच्चमा २०६४ फागुन २७ गते रिट दर्ता गरेकी थिइन् ।
सर्वोच्चले २०६४ फागुन २७ गते निवेदन दर्ता गर्नू भनी आदेश दिएको थियो । त्यसपछि प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाएपनि २०६९ साउन १२ गते अनुसन्धानको फाइल तामेलीमा राख्ने निर्णय गरेको थियो ।
अनुसन्धान तामेलीमा राख्ने निर्णय गर्दा माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराई नेतृत्वको सरकार थियो ।