म्याद थपका लागि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

पोखरा। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा गोर्खा मिडियाका पूर्वसञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराधको मुद्दामा थप अनुसन्धानका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।
प्रहरी र सरकारी वकिल कार्यालयले लामिछानेको बयान कार्य सम्पन्न नभएको जनाउँदै थप हिरासत म्यादको माग गर्ने तयारी गरेका छन् ।
जिल्ल प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले लामिछानेलाई आज म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइने जानकारी दिए ।
जिल्ला न्यायाधिवक्ता कमला काफ्लेका अनुसार अनुसन्धान प्रक्रियामा प्रमाण संकलन र आवश्यक कागजात प्राप्तिलाई प्राथमिकता दिइएकोले बयान प्रक्रिया दोस्रो प्राथमिकतामा परेको छ । उनले लामिछानेले बयान प्रक्रियामा सहयोग गरिरहेको र यो उनको दायित्व तथा कर्तव्य पनि रहेको जनाईन।
गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका लामिछानेसँगै सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाई पनि आजै म्याद थपका लागि अदालत लगिँदैछ ।

LEAVE A REPLY