काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा जति विद्युत खपत गरेपनि लोडसेडिङ नहुने दाबी गरेका छन ।
उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मीपूजामा बत्ती नजाने पनि स्पष्ट पारे । यस वर्षको तिहारमा देशभित्र पुग्ने विद्युत उत्पादन भइरहेको र तिहारमा आयात पनि गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । सकेसम्म तिहारमा देशभित्रको खपत पुर्याएर निर्यातसमेत गर्न पुग्ने विद्युत प्राधिकरणसँग रहेको उनले जनाएका छन् ।
घिसिङले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित केही जलविद्युत आयोजनामा ठूलो क्षति गरेको र अधिकांश आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने जानकारी दिएका छन् । अहिले २१ सय मेगावट क्षमताका आयोजना सञ्चालनमा रहे पनि उत्पादन घटेर १९ सय मेगावाटमा झरेको छ ।
यस वर्ष बाढीपहिरोले जलविद्युत आयोजनाहरूमा क्षति पुगेका कारण हिउँदमा थप विद्युत आयात गर्नुपर्ने प्राधिकरणको आकलन छ ।