काठमाण्डौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा ५४ दिनदेखि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज सातौँपटक कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीले तयारी गरेको छ । लामिछानेलाई हवाईमार्गबाट काठमाडौं हुँदै पोखरा लैजान लागिएको छ । बयानका लागि सोमबार बेलुका पर्सा पुर्याइएका लामिछानेको मंगलबार बयान लिइएको थियो ।
लामिछानेको यसअघि कास्की, रूपन्देही, काठमाडौं, चितवनमा बयान लिइएको थियो । सानो पाइला सहकारीमा जोडिएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशी र रामबहादुर खनाललाई बयानका लागि स्थलमार्गबाटै पर्सा पुर्याइएर प्रहरीले पुनः पोखरा पुर्याएको छ ।
पर्सा जिल्ला अदालतले गत मंसिर १९ गते रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको थियो ।