काठमाण्डौं । वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयता पाउने भएका छन् । समाजवादीमा आउँदा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले तेस्रो वरीयता पाउने गरी मोटामोटी सहमति भएको हो ।
समाजवादीको केन्द्रीय कार्यालय बानेश्वरको आलोकनगरमा भएको दुई दलीय छलफल गौतम पार्टीमा आउने गरी समझदारी भएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘उहाँहरूसँग राम्रो कुराकानी भयो । हामी आज सैद्धान्तिक विषयमा बढी केन्द्रित भयौं । उहाँले पहिलेदेखि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक प्रणालीको विषय उठाउँदै आउनुभएको थियो । तर यसमा तत्काल निष्कर्ष निकाल्ने बेला भएको छैन । राम्रा नराम्रा पक्षको चर्चा गर्दै आन्तरिक छलफलबाट निष्कर्ष निकाल्दै जाने समझदारी भयो,’ खतिवडाले भने, ‘तर उहाँ नेकपा समाजवादीमा आउने पक्का भयो । आन्तरिक समझदारी भएको छ । उहाँलाई समाजवादीमा तेस्रो वरीयता हुने गरी लगभग सहमति भएको छ । अबको १५ दिन हाराहारीमा औपचारिक सहमति हुन्छ भन्ने हाम्रो विश्वास छ ।’
समाजवादीमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि गौतमले वरिष्ठ नेताको वरीयता पाउने भएका छन् ।
पहिले गौतमको विषय टुंगिएपछि अन्य नेताहरूलाई पनि व्यवस्थापन गर्दै जाने खतिवडाले दिए ।
समाजवादीसँग छलफल गरेपछि गौतमले पनि एकजुट हुने समझदारी भएको जानकारी दिए ।
‘माधव जी र म एकजुट हुने भइयो नि त । माधवजीले नै भीम रावललाई के गर्ने गर्नुहोला, मलाई थाहा भएन,’ छलफलपछि गौतमले भने ।
एमालेसँग दुरी बढेपछि गौतम समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।
एमालेसँग दुरी बढेपछि निष्कासनमा परेका अर्का नेता भीम रावलले बुधबारै ‘मातृभूमि जागरण अभियान’ गर्ने घोषणा गरेका छन् ।