जीबी राईको राहदानी रद्द गर्न अदालतको आदेश

काठमाण्डौं । सहकारी ठगी प्रकरणमा मुद्दा लागेर फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश हिमाल बेलबासेको इजलासले राहदानी विभागलाई राईको राहदानी रद्द गर्न निर्देशन दिएको छ ।
राई तत्कालीन गोरखा मिडिया नेटवर्कका अध्यक्ष हुन् । प्रहरीले राहदानी विभागलाई राईको राहदानी रद्द गर्न पत्र लेखेको थियो तर विभागले रद्द नगरेपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीमार्फत अदालतमा निवेदन दर्ता गरिएकोमा अदालतले रद्द गर्न आदेश दिएको छ ।
जीबी राईमाथि काठमाण्डौंको स्वर्णलक्ष्मी, चितवनको सहारा चितवन, रुपन्देहीको सुप्रिम, वीरगञ्जको सानोपाइला र सूर्यदर्शन सहकारी ठगीमा अभियोग लागेको छ । राईकै साझेदार रवि लामिछाने र छविलाल जोशी पक्राउ परेर मुद्दाको सामना गरिरहेका छन् ।

LEAVE A REPLY