काठमाडौं । बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ।
बर्दियाको मधुवन नगरपालिका ७ बस्ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी लामिछानेको शुक्रबार बिहान चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए।
उनले भने, ‘नेपाल भारत सीमा क्षेत्रमा उहाँ बाख्रा चराउन जानु भएको र विहान ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो। त्यसपछि स्थानीयले देखेपछि होहल्ला गरेपछि चितुवा भागेको थियो।’
डिएसपी मगरका अनुसार स्थानीयले प्रहरीलाई दिउँसो साढे १ बजेतिर मात्रै खबर गरेको थियो।
घाइते भएकी जुनालाई जिल्ला अस्पताल गुलरिया पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो।