सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु

काठमाण्डौं । पर्वत र अर्घाखाँचीमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
पर्वतको विहादी गाउँपालिका–६ सुशिल ढुङ्गास्थित सडकमा गुल्मीबाट स्याङजातर्फ जाँदै गरेको लु १ ज ४४६० नम्बरको बोलेरो जीप अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा जीपमा सवार विहादी गाउँपालिका–३ रानीपानी बस्ने ६१ वर्षीय मिन प्रसाद न्यौपाने र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाट बस्ने ६४ वर्षीय डिल भट्टचनको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका जीपमा सवार अन्य ७ जनालाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी अर्घाखाँचीको मालारानी गाउँपालिका–२ कुभिन्डेस्थित सडकमा बुटबलबाट अर्घाखाँचीतर्फ आउँदै गरेको लु १ ज ४२२६ नम्बरको जीप बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका–२ बस्ने ५१ वर्षीय कृष्ण लाल मरासिनीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY