राजसंस्था र हिन्दूराष्ट्रका लागि काठमाण्डौं केन्द्रित आन्दोलन गर्ने राप्रपाको निर्णय

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनःस्थापना, हिन्दूराष्ट्र घोषणा लगायत मागसहित काठमाण्डौं उपत्यका केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको छ ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष लिङ्देनको नेतृत्वमा रहेको आन्दोलन परिचालन मूल समितिको बैठक चैत १२ गते बस्नेछ । बैठकमा आगामी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने जनाइएको छ । लिङ्देनको नेतृत्वमा पार्टीका सबै गतिविधि आन्दोलनमुखी बनाउने राप्रपाको तयारी छ ।
राप्रपाले समान विचार राख्ने समूह, दल तथा व्यक्तिहरूसँग संवाद र सहकार्य गर्ने नीति लिएको छ ।
बैठकले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार असफल भएको निष्कर्ष निकालेको छ । अर्थतन्त्र कमजोर हुँदै गइरहेको, भ्रष्टाचार नियन्त्रणमा सरकार चुकेको र आमजनतामा निराशा बढ्दै गएको भन्दै राप्रपाले प्रणालीगत सुधार आवश्यक रहेको जनाएको छ ।
पार्टीले ‘नवीन समझदारी’लाई नै समस्या समाधानको सूत्रको रूपमा अघि सारेको छ । कुनै पनि राजनीतिक दललाई निषेध नगरी साझा समझदारी निर्माण गर्न राप्रपाले आह्वान गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जनाए ।

LEAVE A REPLY