क्रान्तिका लागि तयार रहन रवि लामिछानेको अनुरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन अनुरोध गरेका छन् ।
आज जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका लामिछानेले ठूला दुई राजनीति दल मिल्दा देश भयावह अवस्थामा पुगेको भन्दै क्रान्तिको लागि सबैलाई तयार रहन अनुरोध गरेका हुन् ।
उनले भने,‘देशको भविष्य मेरो पुस्ताको, हाम्रो पुस्ताको हातमा छ । त्यसैले यो एकदमै गम्भीर हुने समय हो । दुई तिहाइको सरकार छ । यसले देशका तमाम समस्या समाधान गर्नुपर्ने हो । वाचा त्यहीअनुसार गरिएको छ । जब दुईवटा ठूला राजनीतिक दलहरु मिल्छन् भने त्यसबाट उत्पन्न हुने परिस्थिति कति भयावह हुन्छ अन्दाज गर्नुहोला भनेर संसदमै भनेको थिए । अहिले त्यही स्मरण गराउन चाहन्छु । सरकार अहिले नाङ्गिएको हुनाले सरकारको लाज छोप्दिनका लागि अदालत घुमिरहेको छु । ठाउँ ठाउँमा पुग्नुपर्नेछ । समय आउँदै छ चाँडै नै । म सबैलाई तयार हुन अनुरोध गर्न चाहन्छु । क्रान्तिको लागि तयार रहनु होला ।’
त्यस्तै उनलाई पत्रकारहरुले तपाईलाई त राजावादी रहेछ भन्ने आरोपहरु पनि आइरहेको छ नि ? भन्दै प्रश्न गरेका थिए । उनले जवाफमा भने,‘म आवेग र उत्तेजनामा छैन । किनकी देश एउटा गम्भीर अवस्थामा आइपुगेको छ । एउटा जिम्मेवार राजनीतिक दलको हिसाबले र नेपाली जनताले एउटा आशा एवम् भरोसाका साथ हेरेको एउटा दलको हिसाबले म कुनै आवेग र उत्तेजनामा आएर उत्तर दिने पक्षमा छैन ।’

LEAVE A REPLY