आफूविरुद्ध षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको गृहमन्त्रीको आरोप

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको आरोप लगाएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै उनले विवादित प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जनाएका छन् । विपक्षी दलहरूको अवरोधका कारण संसद्मा बोल्न नपाएपछि उनले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेका छन् ।
‘यो असत्य र बेठीक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन । मलाई मेराविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको छ । यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ,’ उनले भने ।
अध्यागमन कार्यालयमा सरुवा भएर गएका तीर्थराज भट्टराई आफूले कुनै मन्त्रालय वा विभागबाट ल्याएको कर्मचारी नभएको उनले जनाए । ‘म यो मन्त्रालयमा जिम्मेवारी लिएर आउँदा यही मन्त्रालयको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशन भएर काम गरिराख्नुभएको थियो । उहाँलाई त्यहाँ सरुवा गरिएको हो । उहाँले यसअघि मन्त्रालयका महत्वपूर्ण जिम्मेवारी र प्रजिअ भएर काम गरिसक्नुभयो । जो मभन्दा अगाडिका मन्त्रीहरूको सरुवा र खटपटमा भएको हो,’ उनले भने ।

LEAVE A REPLY