माओवादीले गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिने

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) ले संसदमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने भएको छ । बिहीबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा संसदमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएर उनको जवाफ सुनने विषयमा छलफल गरेको हो ।
‘भिजिट भिसा प्रकरणमा माओवादीसहित विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन् । यहि विषयमा गृहमन्त्रीले लेखकले संसदमा बोल्न पाउनु पर्ने जनाउँदै आएका छन् ।
माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले सत्तापक्षमा रहेका राजनीतिक पार्टीसहित विपक्षीमा रहेका राजनीतिक पार्टीहरूसँग सदनको अवरोध खुलाउने विषयमा बैठकमा छलफल भएको जनाए ।
बैठकले संसद्को गतिरोध अन्त्य गर्न अधिकतम प्रयास गर्ने निर्णय पनि गरेको छ।
पदाधिकारी बैठकपछि सापकोटाले भने, ‘हामी सकेसम्म यो महत्वपुर्ण र गम्भीर विषय भएकाले छानबिनका लागि पनि वातावरण बनाउनुपर्छ र सदनमा छलफलको वातावरण पनि बनाउनुपर्छ भन्ने आजको छलफलको निष्कर्ष छ ।’
भिजिट भिसा प्रकरणमा छानबिनको विषय भएकाले यसलाई सकारात्मक निष्कर्षमा पुर्‍याउन सरकार र विपक्षी पार्टीहरूसँग कुराकानी गर्ने प्रवक्ता सापकोटाले जनाए।
‘व्यक्ति विशेषमा पार्टीको ध्यान छैन, मुख्य विषय छानबिन समिति गठन गरी प्रभावकारी छानबिन गर्नु हो, यसबारेमा निरन्तर छलफल भइरहेको छ । यसलाई सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने दृष्टिकोणबाट छलफल अघि बढेको छ’, सापकोटाले भने, ‘यो गम्भीर विषय भएकाले छानबिनका लागि वातावरण बनाउनुपर्छ । सदन सञ्चालनका बारेमा सकारात्मक छलफल गरी अघि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ ।”
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा वा छानबिन समिति नबनेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने रास्वपाको अडान छ । उक्त अडानमा माओवादीले पनि साथ दिएकाले मंगलबार र बुधबारको बैठक सूचना टाँसेर स्थगित हुँदै आएको छ ।

LEAVE A REPLY