उदयपुरको अमलचौरीमा दुई युवायुवती मृत फेला

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा दुई युवायुवती मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार स्थानीय अन्दाजी १४ वर्षीया मञ्जु राईको शव बाटोको छेउमा लडिरहेको अवस्थामा भेटिएको हो भने अन्दाजी वर्ष २८ को रवीन्द्र राईको शव मञ्जुको शवभन्दा २ सय मिटर तल झुण्डिएको अवस्थामा भेटिएको हो ।
इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बविन राईका अनुसार अहिले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । घटना के कति कारणले भयो भन्ने खुल्न नसकेको उनको भनाई छ ।
मृतक युवती मञ्जु स्थानीय चौदण्डीगढी–२ स्थित सिंह देवी माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रहेको र युवक रवीन्द्र केही दिन अघि मात्र काठमाडौंबाट घर आएको जनाईएको छ । उनीहरु छिमेकी रहेको समेत प्रहरीको भनाई छ ।
स्थानीयले आज बुधबार बिहानै बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटना स्थल पुगेको प्रहरीले खोजतलास गर्दा दुई सय मिटर नजिक रवीन्द्रको शव झुण्डिएको अवस्थामा फेला पारेको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारमान दोङले दुई जनाको शव फेला परेको र इलाका प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गरी शव उठाउनको लागि कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिए ।
दोङका अनुसार प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY