रास्वपाले आज तेस्रो स्थापना दिवस मनाउँदै

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार आफ्नो तेस्रो स्थापना दिवस मनाउँदैछ ।
‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संबद्र्धनका लागि सडक र संसद’ भन्ने नारासहित तेस्रो स्थापना दिवस मनाउन लागेको हो ।
एक दशक लामो सञ्चारकर्म छोडेर लामिछनेले २०७९ असार ७ गते आफ्नै नेतृत्वमा रास्वपा गठन गरेका थिए । सुरुमा २५ सदस्यीय केन्द्रीय समिति गठन गरेका उनले अहिले ५९ जनाको समिति बनाएका छन् । त्यतिबेला उनले देशको राजनीति नै हिलो मैलोले दुर्गन्धित भएकाले फोहोर सफा गर्न राजनीतिमा आएको दाबी गरेका थिए ।
पार्टीका संस्थापक सभापति रवि लामिछाने सहकारी ठगी मुद्दाको आरोपमा पुर्पक्षका लागि जेलमा रहेका बेला पार्टीले स्थापना दिवस मनाउँदै छ । विभिन्न सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लामिछानेमाथि लागेको छ ।
रास्वापा नेताहरूले पार्टी स्थापनाको तीन वर्ष सोचेअनुसार काम नभए पनि राजनीतिक अभियानका रूपमा पुराना दलहरूलाई रुपान्तरण गर्न बाध्य पारेको दाबी गर्छन् ।
नयाँ र वैकल्पिक शक्तिको नेतृत्व लिएर आएका लामिछाने तीन वर्षमा एकपछि अर्को मुद्दामामिला र झमेलामा फस्दै गएका छन् ।
पार्टी स्थापना गरेको ६ महिनामै आम निर्वाचनमा होमिएको रास्वपाले देशभर ११ लाख ३० हजार मत ल्याएर पुराना दलहरूलाई चुनौती दियो । लामिछानेले चितवन–२ बाट निर्वाचित भए ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जित्यो । संसदमा रास्वपा चौथो स्थानमा छ ।

LEAVE A REPLY