पार्टी र आन्दोलनमाथि लक्षित प्रहारको प्रतिवाद गर्नु सिङ्गो पार्टीको कर्तव्य ः शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी, आन्दोलन र नेतृत्वमाथि लक्षित प्रहारको प्रतिवाद गर्नु सम्पूर्ण पार्टीको साझा जिम्मेवारी रहेको जनाएका छन् ।
पोखरेलले सामाजिक सञ्जालमार्फत संक्षिप्त टिप्पणी गर्दै राजनीतिक उद्देश्यले गरिने प्रहारको प्रतिकार गर्नु नै पार्टीको मूल कर्तव्य भएको स्पष्ट पारेका छन् । ‘पार्टी र आन्दोलनलाई कमजोर बनाउन जसका विरुद्ध प्रहार केन्द्रित गरिएको हुन्छ, त्यसको रक्षा गर्नु सिङ्गो पार्टीको कर्तव्य बन्न पुग्दछ’ महासचिव पोखरेलले लेखेका छन् ।
पोखरेलले पार्टीभित्रको ऐक्यबद्धता, नेतृत्वको संरक्षण र आन्दोलनको निरन्तरतामाथि विशेष जोड दिएका छन् । केही समययता एमालेको नेतृत्वविरुद्ध सामाजिक सञ्जाल मार्फत लगातार आक्रमण भइरहेको बेला महासचिवको यस्तो अभिव्यक्ति आएको हो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूबाट आक्रमण भइरहेका बेला महासचिव पोखरेलको स्ट्याटस सार्वजनिक भएको हो । पार्टीभित्र आन्तरिक छलफल र बहस आवश्यक भए पनि नेतृत्वमाथि हुने योजनाबद्ध प्रहारले संगठनलाई कमजोर बनाउन सक्ने खतरा रहन्छ भन्ने सन्देश उनले दिएका छन् ।

LEAVE A REPLY