झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरेका छन् । भूमि समस्या समाधान आयोग,जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा पालिकाका दुई सयलाई जग्गा धनीपूर्जा वितरण भएको हो ।
प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै अहिलेको सरकारले मुलुकमा स्थिरता कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको जनाए । उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै पारित गरिने जनाए ।
प्रधानमन्त्री ओलीले जमिन खेर जान नदिई ठूलाठूला चाक्ला बनाएर व्यावसायिक खेती गरेर आर्थिक समृद्धिमा लाग्न आग्रह गरे । उनले देश विकासको गतिमा अग्रसर भएकोले निराशा र कुनै हल्लाको पछि लाग्नुनपर्ने जनाउँदै शिक्षा र स्वास्थ आदिका क्षेत्रमा ठूलो परिवर्तन भएको जनताले अनुभव गरेको र अझै ठूलो परिवर्तनका लागि सरकारले काम गरिरहेको स्पष्ट गरे ।
‘यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरु कराउन् । सरकारको एक वर्ष बित्यो । अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु । त्यसपछि हाम्रो सहमति बमोजिम नेपाली काङ्ग्रेसका सभापति एवं मेरो लामो लोकतान्त्रिक आन्दोलनका सहयात्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिनेछ । चुनावसम्म यो यात्रा जारी रहने दाबी गरे । म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छु ।’ प्रधानमन्त्री ओलीले भने ।
कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्म भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई क्रमशः जग्गा धनीपूर्जा वितरण गरिने जानकारी दिए ।