काठमाण्डौं । प्रहरीले काठमाण्डौं महानगरपालिकाको कर्मचारी भन्दै १३ लाख २५ हजार असुल्ने व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–२ घर भई हाल काठमाण्डु महानगरपालिका–६ बस्ने २८ वर्षीय राजु लामा रहेका छन् ।
उनले काठमाण्डौं महानगरपालिका–३१ स्थित वडा एरियामा आफू काठमाण्डौं महानगरपालिकाको सरसफाइ कर्मचारी हुँ भन्दै प्रत्येक घरबाट रकम उठाउने गरेकाले प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको छ ।
अनुसन्धानका क्रममा उनी महानगरपालिकाको कर्मचारी नभएको तर पटक–पटक गरी हालसम्म १३ लाख २५ हजार असुली गरेको र नगद ६ हजार ५००, रसिद, बिलबिजक ५ थान, कोटेश्वर बेष्ट कन्सर्नको महसुल कार्ड ९ थान, नेपाल फूलबारी सेवा प्रालिको सरसफाइ शुल्क कार्ड २ थान बरामद गरी थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले जनाएका छन् ।