पोखरा । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका भनिएका हायु परिवारका सदस्यहरू पोखराको गगनगौंडामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले हायु परिवारका १६ जनालाई नै गगनगौंडामा फेला पारिएको जानकारी दिए ।
एसपी ओलियाका अनुसार उनीहरू गाडी रिजर्भ गरेर पोखरा आएका थिए । उनीहरू शनिबार लेकसाइडस्थित होटेल जननीमा बसेका थिए । आइतबार होटेलबाट निस्किएका उनीहरू सोमबार गगनगौंडामा भेटिएका हुन् ।
“प्रारम्भिक रुपमा कुराकानी गर्दा २० हजार रुपैयाँमा गाडी भाडामा लिएर सपरिवार उनीहरू पोखरा आएका रहेछन् । शनिबार लेकसाइडमा रहेको होटल जननीमा बसेर आइतबार निस्किएको देखिन्छ” उनले भने, “१६ जना हराइरहेको समाचार सोमबार प्रकाशन र प्रसारण भएपछि होटल सञ्चालक सुनिल भुर्तेलले हामीलाई जानकारी गराए । त्यसपछि सीसीटीभीको आधारमा उनीहरूको लोकेसन पत्ता लाग्यो ।”
उनीहरु स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा भेटिएको एसपी ओलियाले जनाए । उनीहरुले पोखरामा ज्यामी काम गर्नका लागि आएको जनाउँदै डेरा लिएका थिए ।
परिवारकै १६ जना केहीदेखि सम्पर्कविहीन भएको खबर सोमबार दिनभर नै चर्चामा रहेको थियो । घरमा सोमबार प्रहरीसहितको टोली पुग्दासमेत कोही नभेटिएपछि सम्पर्कविहीन भएको भन्दै उनीहरुको खोजी व्यापक बनाइएको थियो ।