काठमाडौं । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिता हुन प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमिनिस्तान जाँदै छन्।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति ११ः५५ बजे फ्लाई दुुबईको उडानबाट दुुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जाँन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भेट गर्दै आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे अवगत गराएका थिए।
यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमिनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेका हुन्।
सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्नेछन्। उनको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसद्का सदस्य सूर्यबहादुर थापा क्षेत्री र उच्चपदस्थ सरकारी अधिकारीहरूसमेत सहभागी हुनेछन्। प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम छ।