निलम्बनविरुद्ध ओझाको रिटमा सर्वोच्चले दिएन अन्तरिम

काठमाडौं । निलम्बनविरूद्ध नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
साउन ८ गते ओझाले दर्ता गरेको रिटमा साउन ९ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ र अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेका थिए ।
त्यसपछि साउन १२ गते मनोजकुमार शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा पेसी परे पनि हेर्न नभ्याइनेमा परेको थियो । साउन १४ गते सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा पेसी परे पनि हेर्न नमिल्नेमा परेको थियो भने साउन १८ गते हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी परे पनि हेर्न नभ्याइने भएको थियो ।
आज फुयाल र थापाको इजलासले बहसपछि यस्तो आदेश जारी गरेको हो । यससँगै समितिको काम निरन्तर हुनेछ ।
आफूविरुद्ध गठन गरिएको छानबिन समिति खारेज तथा निलम्बनमा फुकुवाको माग गर्दै ओझाले सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र छानबिन समितिलाई विपक्षी बनाई संयुक्त रूपमा दायर रिटमा छानबिन समितिका अध्यक्ष कृष्ण गिरी तथा सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई पनि विपक्षी बनाइएको छ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाबारे छानबिन गर्न सरकारले असार ३० गते समिति बनाएको थियो ।
उनको आचरण, पदीय मर्यादा र कार्यक्षमताबारे छानबिन गर्न समिति बनाइएको हो । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः निलम्बनमा परेका थिए ।
फागुन १२ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।

LEAVE A REPLY