काठमाडौं । नेपाल सद्भावना पार्टी पुनर्गठन भएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्भावना पार्टी पुनर्गठन गरेका हुन्।
उनले पुनर्गठन गरेको पार्टीलाई हिजोमात्रै निर्वाचन आयोगले मान्यता दिएको छ।
मधेशवादी ६ वटा दल एकीकरण हुँदा सद्भावना पार्टी ०७४ सालदेखि निष्क्रिय थियो।
झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। झा खानेपानीमन्त्री समेत भए। २०७९ को चुनावमा भने उनी पराजित भएका थिए।
उनी पुनः लोसपा छाडेर सद्भावना पार्टीमा सक्रिय भएका हुन्।
झाले समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी समुदाय भन्ने पार्टीको स्थापित मान्यताका लागी क्रियाशिल हुने जनाएका छन्।
उनले आफ्नो नेतृत्वमा गरिएको पुर्नगठनलाई निर्वाचन आयोगले औपचारिक रुपमा मान्यता प्रदान गरेको जानकारी समेत दिए। अब पछि परेका समूदायको पहिचान, पहुंच, प्रतिनिधित्व, प्रदेश र प्राकृतिक श्रोत एवं राजस्वको बाँडफाँडमा समान अधिकारका लागी अर्थात मजबुत संघीयता र अर्थपूर्ण समावेशीकरणकोपक्षमा संघर्षरत रहने झाले जनाएका छन्।
अध्यक्ष झाले संघियता कार्यान्वयनमा प्रदेश सरकारहरुले देखाईरहेको उदासिनता र केन्द्र सरकारको उपेक्षाभाव पार्टीको चिन्ता रहेको धारणा राखे।
पुनर्गठित नेपाल सद्भावना पार्टीले सुकुम्बासी समस्या लगायत कुनै पनि समस्याको बहानामा भै रहेको मधेशको भूमि बितरण कार्य लाई अबिलम्ब रोक्न सरकार संग माग गरेको छ भने मधेश लगायत देश भरका किसानले भोगीरहको रासायनिक मलको कमीको समस्याको अबिलम्ब समाधानको लागी केन्द्र र प्रदेश सरकारहरुसंग माग गरेको छ। अध्यक्ष झाले नेपाल सद्भावना पार्टीको ३६ वर्षको यात्रा पार गर्दै बर्तमान स्वरुप पुनः ग्रहण गर्दासम्म यसबीचमा गरिएका सबै प्रकारका कार्यहरुको स्वामित्व ग्रहण गर्ने जनाएका छन्।