काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेका हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ । जसका कारण धेरै स्थानमा वर्षाको सम्भावना कम छ तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी रहेको छ ।
विभागले आज दिउँसो देशभर साधारणतया बदली रहनुको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । साथै, मधेश प्रदेशको तराईको एकदुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशको पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार, आज राति भने कोशी, गण्डकी लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको पहाडी तथा तराई भू–भाग लगायत बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानमा र बाँकी तराई भू–भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।