प्रधानमन्त्री हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट चीन जाने

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट चीन जाने तय भएको छ ।
भदौ १४ गते (अगस्त ३०) चीन भ्रमणमा जान लागेका ओली काठमाण्डौंबाट सोझै तियानजिन शहर जाने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
चीनमा प्रधानमन्त्री ओलीले संघाइ अर्गनाइजेसन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन् । शिखर सम्मेलन अगस्त ३१ र सेप्टेम्बर १ मा तियानजिन शहरमा हुँदैछ ।
नेपाल सन् २०२० देखि एससीओको संवाद साझेदारको रूपमा रहँदै आएको छ । एससीओको शिखर सम्मेलनमा नेपालबाट पहिलो पटक उच्चस्तरको सहभागिता हुन लागेको छ ।
प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा परराष्ट्र सचिव अमृत बहादुर राई, चीन महाशाखा हेर्ने सहसचिव भृगु ढुंगाना, चिफ अफ प्रोटोकल सहसचिव कुमार खरेल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, सुरक्षाकर्मी रहने स्रोतले जनाएको छ । चीन भ्रमणमा सानो टीम जाने तय भएको जनाइएको छ ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्ध, पूर्वाधार विकास र क्षेत्रीय सहकार्यका विषयमा उच्चस्तरीय वार्ता गर्ने सम्भावना छ ।
यसअघि प्रधानमन्त्री ओलीले मंसिर १७ गते चीनको ४ दिने औपचारिक भ्रमण गरेका थिए । भ्रमणका क्रममा २ देशबीच महत्वपूर्ण सम्झौता पनि भएको थियो ।

LEAVE A REPLY