काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको जनाएका छन् ।
कर्णाली प्रदेशको आज भएको पूर्ण बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले जनताको भरोसा पुनः बढेको भन्दै पार्टीमा गुटबन्दी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
माओवादीले स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन, नेपाल पर्वतारोहण सङ्घलगायत संस्थाको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकका रूपमा चित्रण गरेको छ ।
पार्टीभित्र द्वन्द्व सृजना हुन नदिने, गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने सङ्कल्प स्थायी समितिले गरिसकेको जानकारी दिँदै अध्यक्ष दाहालले शिक्षा विधेयकलगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको उनले जनाए ।