काठमाण्डौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा समितिकी सदस्य ईश्वरी देवी न्यौपाने सर्वसम्मत निर्वाचित भएकी छन् ।
बुधबार बसेको समितिको बैठकमा समिति सदस्य सर्वेन्द्रनाथ सुक्लाले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम ४ बमोजिम सदस्य ईश्वरी देवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
उनले भने, ‘प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७६ को उपनियम ४ बमोजिम सदस्य ईश्वरी देवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’
समितिका निवर्तमान सभापति रामहरि खतिवडाले ईश्वरी देवी न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
खतिवडाले भने, ‘समितिका माननीय सदस्य श्री ईश्वरी देवी न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु ।’
समिति सदस्य कृष्ण गोपाल श्रेष्ठले प्रस्तावको समर्थन गरेका छन् । उनले भने, ‘ईश्वरी देवी न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्वाचित गरियोस् भनी राख्नुभएको प्रस्तावको समर्थन गर्दछु ।’
यसअघि संसदीय सुनुवाइ समितिको सभापति रहेकी उनले राजीनामा दिएर सुशासन समितिको सभापतिमा उम्मेदवारी दिएकी थिइन् ।