जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, राष्ट्रिय एकता र अखण्डताप्रति सरकार पूर्ण प्रतिवद्ध रहेको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् ।
अहिले चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरा समेटिएको नेपाली नक्सा (चुच्चे नक्सा) माथि राष्ट्रिय झण्डा राखिएको तस्वीरसहित फेसबुकमा लेखेका छन्, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी । जय जय– नेपाल ।’
साङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन शनिबार चीनको थियानमिन पुगेलगत्तै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भएको द्विपक्षीय भेटवार्तामा सार्वभौम नेपालको अभिन्न भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा स्पष्ट रूपमा आपत्ति जनाएका थिए ।
“सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरू सार्वभौम मुलुक नेपालको भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास नेपालले लिएको छ”, प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग भनेका थिए, “नेपाल जसरी आफ्नो भूमि कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने विषयमा स्पष्ट छ, त्यसैगरी आफ्नो भूमिका विषयमा अरू मुलुकले गर्ने सहमतिमा पनि उत्तिकै असहमति व्यक्त गर्दछ ।”
नेपालको भनाइको जवाफमा राष्ट्रपति सीले नेपालको अडानप्रति आफ्नो फरक मत नरहेको र यसबारे नेपाल र भारतबीचको छलफलबाट निष्कर्ष निस्कियोस् भन्ने चाहना राखेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।

LEAVE A REPLY