काठमाण्डौं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले बालिकालाई ठक्कर दिएपछि गोदावरी जाने मुख्य सडक अवरुद्ध भएको छ।
ट्राफिक वृत्त सातदोबाटोका इन्स्पेक्टर श्रीराम भट्टका अनुसार मन्त्री राम राना सवार गाडीले ललितपुरको हरिसिद्दी उकालोमा ११ वर्षीया उषा सुनुवारलाई ठक्कर दिएपछि स्थानीयले बाटो अवरुद्ध गरेका हुन् । बालिकालाई ठक्कर दिएर मन्त्रीको झण्डावाल गाडी फरार भएको आरोप स्थानीय बासिन्दाले लगाएका छन् ।
प्रहरीका अनुसार घाइते बालिकाको अवस्था सामान्य छ भने उनको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि स्थानीयले सडक बन्द गराएका छन् ।
सडक अवरुद्ध हुँदा आम नागरिकसँगै एमाले विधान महाधिवेशनमा जाने प्रतिनिधिहरू पनि समस्यामा परेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जनप्रतिनिधि र स्थानीय बासिन्दाबीच २८ नम्बर वडा कार्यालयमा वार्ता भइरहेको छ ।
यसबीच एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले घाइते बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने जनाएका छन् ।
घटनाको जानकारी दिँदै उनले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी कसैले राजनीति गर्न खोजेकोप्रति अध्यक्ष ओलीले दुःख व्यक्त गरे ।