काठमाडौं । आज जेन–जी पुस्ताले काठमाडौंको माइतीघरमा सशक्त प्रदर्शन गर्दैछ ।
विभिन्न सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारको प्रतिगामी कदमविरुद्ध जेन–जीले प्रदर्शन गर्न लागेका हुन् ।
उनीहरूले देशमा भइरहेको चरम भ्रष्टाचारदेखि सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसम्मका कदमविरुद्ध व्यापक प्रदर्शन गर्नेछन् । विशेष उमेर समूहअन्तर्गत (सन् १९९७ देखि २०१२ को बीचमा जन्मेको पुस्तालाई, जसलाई जेनेरेसन जेड अर्थात् जेन–जी भनिन्छ) पर्ने यो जेन–जी आन्दोलनमा उनीहरूकै उमेर समूहका मानिस सहभागी हुनेछन् ।
आन्दोलन नेतृत्व कसले गर्ने भन्ने यकिन भइसकेको छैन । तर, अभियानप्रति सबै उमेर समूहका व्यक्तिले समर्थन र ऐक्यबद्धता जनाएका छन् ।
उनीहरूको आन्दोलन आज बिहान ९ बजेदेखि शुरु भएर ११ बजेतिर बानेश्वरसम्म मार्च गर्ने तयारी छ ।