काठमाण्डौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीले सुरु गरेको आन्दोलन चर्किंदै जाँदा मृत्यु हुनेको संख्या ३४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररतमध्ये ३४ जनाले ज्यान गुमाएका हुन्।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालसम्म १ हजार ३६८ जना घाइते भएका छन्। तीमध्ये ३२१ जना अझै उपचाररत छन् भने ९४९ जनालाई डिस्चार्ज गरिएको छ।
काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५, एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा ३–३, केएमसी र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २–२, बयोधा अस्पतालमा २ तथा त्रिवि शिक्षण, इलाम र बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच भीषण झडप भएको थियो। प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको आरोप प्रदर्शनकारीहरूले लगाएका छन्। त्यही क्रममा धेरै घाइते भएका र केहीको बाटैमा तथा अस्पतालमा उपचारका क्रममा निधन भएको जनाईएको छ।