जंगी अड्डाको निष्कर्षः अवस्था सामान्य, चुनौती अझै उच्च

नेपाली सेनाको वार्षिक कार्यतालिकाअनुसार हुने पृतनापति समन्वयात्मक बैठक यो वर्ष असोज १० र ११ गते सैनिक मुख्यालय जंगी अड्डा, भद्रकालीमा सम्पन्न भएकाे छ । बैठकमा विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरूको भौतिक उपस्थिति र पृतनापतिहरूको भर्चुअल सहभागिता थियो ।

बैठकमा २३ र २४ भदौमा देशभर भएको जेनजी प्रदर्शनपछि नेपालको सुरक्षा चुनौती बारे छलफल भएकाे छ । प्रदर्शनमा पहिलाे दिन सुरक्षाकर्मीको गोली लागेर काठमाडौं र सुनसरीमा २१ जनाको मृत्यु भएको थियो । सोही दिन तत्कालीन गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए । त्यसबेला महत्त्वपूर्ण संरचनाहरूको सुरक्षामा कमजोरी देखिएको भन्दै आलोचना भएको थियो ।

पृतनापति बैठकमा यिनै घटनाक्रमका बारेमा गम्भीर छलफल भएको उच्च सैनिक स्रोतले जनाएको छ । स्रोतका अनुसार सेनाले सुझबुझपूर्ण ढंगले स्थिति नियन्त्रणमा लिन सफल भए पनि मानवीय क्षतिबाट मात्र भौतिक संरचना जोगाउनुपर्ने चुनौतीबारे गहिरो समीक्षा गरिएको थियो ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार बैठकमा समसामयिक सुरक्षा अवस्था, क्षेत्रगत ब्रीफिङ, आगामी योजना र सुझावहरू प्रस्तुत गरिएकाे छ ।

पृतनापति बैठकअघि सैनिक मुख्यालयले जीवित पूर्वप्रधानसेनापतिहरूसँग पनि परामर्श भएकाे छ । उपस्थित पूर्वप्रधानसेनापतिहरू प्रज्वलशमशेर राणा, प्यारजङ्ग थापा, गौरवशमशेर राणा, पूर्णचन्द्र थापा र प्रभूराम शर्माले बदलिँदो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राखेका थिए ।

बैठकमा २४ भदौको राति सेनाले सम्पूर्ण सुरक्षा कमाण्ड हातमा लिएर परिस्थिति सामान्य पार्न खेलेको भूमिकाको समीक्षा गरिएको थियो । पूर्वप्रधानसेनापतिहरूले पनि सेनाको भूमिकाको प्रशंसा गरेका थिए ।

बैठकमा आउँदो २१ फागुनमा प्रस्तावित प्रतिनिधि सभा निर्वाचनबारे पनि छलफल भएकाे बताइएकाे छ । निर्वाचन समयमै हुने–नहुने, दलहरूको धारणा, र चुनाव नहुँदा उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीबारे विस्तृत विचार–विमर्श भएको सैनिक स्रोतले बताएकाे छ ।

हाल माओवादी केन्द्र र नेपाली कांग्रेसका केही युवा नेताहरू चुनावको पक्षमा देखिए पनि अन्य दलहरूले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । यही कारण चाडपर्वपछि सुरक्षा जोखिम अझ बढ्न सक्ने निष्कर्ष बैठकले निकालेको छ ।

पृतनापति समन्वयात्मक बैठकले देशको अवस्था विस्तारै सामान्य बन्दै गइरहेको स्वीकार गरे पनि सुरक्षा चुनौती अझै उच्च रहेको ठहर गरेको छ । सैनिक मुख्यालयले जेनजी घटनाबारे आधिकारिक विवरण केही समयपछि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

LEAVE A REPLY