काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले भाग लिने जनाएका छन् । कांग्रेसले भाग लिने मात्र नभई निर्वाचन सफल बनाउने उनले उल्लेख गरेका छन् ।
“नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ । यसमा कसैले पनि द्विविधा नराखौँ,” उनले सोमबार (कात्तिक २४) बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।
उक्त निर्वाचनबाटै नयाँ संसद् आउने उनले जनाएका छन् । “संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन,” उनले भनेका छन् ।
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पनि आफूहरूले पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको उनले जानकारी गराए । “नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो,” उनले लेखेका छन् ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा हाल भइरहेको अलमल यो विषयमा नभएको उनले स्पष्ट पारेका छन् । निर्वाचनअघि कांग्रेसको महाधिवेशन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
“निर्वाचनअघि अधिवेशन गर्नुपर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो,” उनले भनेका छन् ।
उनले अगाडि लेखेका छन्, “अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन ।”













