जेनजी आन्दोलनका नाममा देशमा महाविपत्ति ल्याउने काम भएको ओलीको दाबी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशमा महाविपत्ति ल्याउने काम भएको दाबी गरेका छन् ।
नेकपा एमालेले सोमबार काठमाडौंमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेतालाई स्वागत गर्दै ओलीले युवाहरूलाई एउटा परिस्थिति खडा गरेर मर्ने, मराउने काम भएको जनाएका हुन् । जेनजी आन्दोलनको नाममा देशलाई अँध्यारो बाटोमा लैजाने प्रयास भएको उनको भनाइ छ ।
‘जेनजी आन्दोलनको नाममा सार्वभौमसत्ता सम्पन्न संसद् विघटन भएछ, नगर्नु पर्ने जति नराम्रा काम भएछन्, लोकतन्त्र विरोधी, जनमतलाई अनादर गर्ने सरकार बने छ’, उनले भने
यस्तो अवस्थामा देशलाई सही बाटोमा ल्याउन नेकपा एमालेलाई सुदृढ राष्ट्रिय शक्ति बनाउनु पर्छ भनेर धेरै नेता, कार्यकर्ताहरू एमालेमा फर्किएका ओलीले जनाए । यसले एमालेलाई थप ऊर्जा प्रदान गरेको उनको भनाइ छ । ‘बाहिर नेकपा एमाले सानो चित्त भएका, साँघुरो मन, सानो दिल भएको हल्ला चलाइरहेका छन्, यहाँ कोही पनि खाँदाखाँद गरेर बस्नुपर्ने अवस्था छैन, फराकिलोसँग मजाले बस्न पाइने स्पेस छ ।
जुन पार्टी सबैभन्दा ठुलो छ त्यसलाई काम गर्ने ठाउँ दिन कुनै समस्या नभएको उनले जनाए ।
हालै बनेको नेपाली कम्युष्टि पार्टी प्रति लक्षित गर्दै उनले सो पार्टी बुढाखाडा र बरियादा खोज्ने नेताहरूको मात्र पार्टी भएको टिप्पणी गरे । ‘ज्येष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ, अब एकदुईजना थप्न बाँकी छ उहाँहरूको, बागलुङ तिरका, कता कताका कोही कोही, त्यति भए कोरम पुग्छ’, उनले भने ।
एमाले फर्किएका नेताहरूलाई एमालेले कुनै प्रलोभन नदेखाएको ओलीको भनाइ छ । ओलीले एमाले सबैभन्दा बढी युवा भएको पार्टी भएको जनाए । एमालेसँग फेसबुकको युवा होइन फिल्डमा काम गर्ने युवा भएको उनले दाबी गरे । नेकपा एमाले देश र जनता प्रति समर्पित संगठन भएको ओलीको भनाइ छ ।
आफैँ युवा दस्ता बनाउनु पर्नेमा अरूको विश्वास गर्दा भदौ २३ र २४ को घटना भएको ओलीले बताए । भदौ २३ र २४ को घटना सुनियोजित उपद्र भएको उनको भनाइ छ । अब एमालेले टोल टोलमा सुरक्षा दस्ता बनाएर यस्ता घटा हुन नदिने उनले प्रतिबद्धता जनाए ।
यो कुरा गर्दा सरकारलाई चित्त दुख्न सक्ने भए पनि एमालेले यो काम गरेरै छाड्ने उनले दाबी गरे । दण्डहीनताका प्रवृत्तिले दीर्घकालीन प्रतिशोध जन्माउने कुरामा सचेत हुन उनले सरकारलाई चेतावनी दिए ।

LEAVE A REPLY