काठमाण्डौं । स्व. निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलको डेब्यु निर्देशकीय फिल्म ‘हर्ष’ भोलि शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ । वंश (उत्तराधिकारी) को विषयलाई मुख्य कथावस्तु बनाइएको यो फिल्मको बुधबार साँझ ललितपुरको लबिम हलमा प्रिमियर आयोजना गरिएको थियो, जहाँ उपस्थित सबैले कथावस्तुदेखि कलाकारहरूको अभिनयसम्मको प्रशंसा गरे ।
लामो समयपछि प्रिमियरमा उपस्थित भएकी अभिनेत्री निरुता सिंहले एकताले पहिलो फिल्मबाट नै निर्देशनमा राम्रो सम्भावना देखाएको जनाईन । फिल्मको सुरुमा नै शिव रेग्मीको तस्वीर देख्दा आफू भावुक भएको जनाउँदै उनले भनिन्, ‘फिल्म सन्देशमुलक बनेको छ । यसमा उठाइएको विषय एकदमै सान्दर्भिक छ । त्यसैले एकपटक यो फिल्म सबैले गर्नुपर्छ ।’
निर्देशक रेग्मी पत्नी ज्ञानु रेग्मीले पनि ‘हर्ष’ राम्रो बनेको भन्दै भान्जी एकतालाई सफलताको शुभकामना दिइन् । उनले भनिन्, ‘१२ वर्षपछि खोला पनि फर्किन्छ भनेजस्तै हाम्रो परिवारमा पनि आज त्यस्तै भएको छ । १२ वर्षपछि भान्जीले फिल्म निर्देशन गर्ने आँट गरेकी छन् । एकदमै खुशी लागेको छ । मलाई फिल्म धेरै नै मनपर्यो ।’
अभिनेता समेत रहेका व्यावसायी संजोग कोइरालाले ‘हर्ष’ एउटा फरक अनुभव दिने पारिवारिक फिल्म बनेको प्रतिक्रिया दिए । उनले भने, ‘फिल्ममा सम्बन्धको कथा एकदमै गहिरोसँग भनिएको छ । शिव रेग्मीको ‘इसेन्स’ उहाँ (निर्देशक) ले पनि छाड्नु भएको छैन । भावनात्मक रुपमा एकदमै ‘कनेक्ट’ हुने फिल्म बनेको छ ।’ उनले परिवारसहित फिल्म हेर्न दर्शकलाई आग्रह गरे ।
अभिनेता जयकिशन बस्नेतले कलाकारहरूको अभिनयको प्रशंसा गर्दै फिल्मको कथावस्तु मनछुने रहेको धारणा व्यक्त गरे । पारिवारिक फिल्म मन पराउने दर्शकले ‘हर्ष’ छुटाउनै नहुने उनले बताए । निर्माता द्वय सुनिल कुमार थापा, रोहित अधिकारी, नृत्य निर्देशक सुनिल क्षेत्री, वितरक करण श्रेष्ठ लगायतले पनि फिल्म एकदमै राम्रो बनेको प्रतिक्रिया दिए ।
प्रिमियरमा मिलेको प्रतिक्रियाले प्रफुलित देखिएकी निर्देशक पौडेलले बच्चादेखि फिल्म निर्देशन गर्ने सपना साकार हुँदा खुसी लागेको जनाईन । ‘प्रिमियरमा फिल्म हेर्नु भएका सबैले मामाको झल्को दिन सफल भएकी छौ भन्नुभएको छ । त्यसले पनि आगामी दिनमा अझै राम्रा फिल्म निर्माण गर्नुपर्ने चुनौती थपिएको महसुस गरेकी छु,’ उनले भनिन् ।
यस फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, सुवर्ण थापा, सिर्जना नापित, रेनु प्रधान, बाल कलाकार साइमन वादी लगायतको अभिनय रहेको छ । फिल्ममा सबै कलाकारमाथि साइमन हावी देखिएका छन् । उनको अभिनयले फिल्ममा भावनात्मक प्रभाव थपेको छ ।













