एमाले ११ औं महाधिवेशनको बन्दसत्रमा २ हजार ६१३ जना सहभागी हुने

काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको टिम प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर जुटेका छन् ।
विभागका प्रमुख अधिकारीले महाधिवेशनमा आउनेमध्ये २ हजार १ सय ५४ जना निर्वाचित भएर आउने जनाए । १ सय ८ जना केन्द्रबाट प्रतिनिधि मनोनित हुनेछन् । मनोनितसहित प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना हुने अधिकारीले जानकारी दिए । तत्कालीन नेकपा (एस) को ‘घरफर्क अभियान’बाट आउने मध्येबाट समेत तीन जनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएका छन् । उनीहरुको विषयमा पार्टी सचिवालयले निर्णय गर्ने विभागले जनाएको छ । अधिकारीका अनुसार प्रतिनिधि छनोटमा धनकुटा र ओखलढुंगा जिल्लामा देखिएको समस्या समाधान भइसकेको छ । ती जिल्लाहरुमा प्रतिनिधि छनोट प्रक्रिया पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशन १३ अनुसार नभएकाले केन्द्रले त्यसलाई रद्द गरी पुनः मापदण्ड पुर्‍याएर प्रतिनिधि छनोट गर्न निर्देशन जारी गरेको थियो । जस अनुसार दुवै जिल्लाबाट सर्वसहमत रुपमा प्रतिनिधि छनोट भएर आएका छन् । त्यस बाहेक तीनवटा जिल्लामा प्रतिनिधि छनोटका विषयमा उजुरी परेकाले निराकरण गर्ने काम भइरहेको अधिकारीले जनाए ।
प्रतिनिधि निर्वाचित भएर आएका कतिपयको हकमा पनि मापदण्ड नपुगेको भन्ने उजुरी र गुनासोका आधारमा छानबिन भइरहेको उनले जनाए । संगठन विभागले मापदण्ड नपुगेका कुनै पनि प्रतिनिधिलको कार्ड नबनाउने तयारी गरेको छ । ‘हामीले ७० प्रतिशत भन्दा बढी प्रतिनिधिहरुको भेरिफिकेसन गरिसक्यौँ’ अधिकारीले भने ।
एमालेको महाधिवेशन बन्दसत्र हलमा प्रतिनिधि बाहेक थप ३ सय ५१ जना सदस्य सहभागीका रुपमा प्रवेश गर्दैछन् । उनीहरु सल्लाहकार परिषद्का सदस्यहरु हुन् । सल्लाहकार परिषद्मा ३ सय ७६ जना सदस्य रहेकोमा २५ जना प्रतिनिधि निर्वाचित भएर आएका छन् । प्रतिनिधि हुन नसकेकाहरुलाई महाधिवेशनमा सहभागीका रुपमा प्रवेश गर्ने व्यवस्था मिलाइएको हो । प्रतिनिधि र सहभागी गरी महाधिवेशन बन्दसत्रमा २ हजार ६ सय १३ जना सहभागी हुनेछन् । विभागले दिएको जानकारी अनुसार महाधिवेशन प्रतिनिधिहरुको परिचय पत्र छपाइको काम पनि धमाधम भइरहेको छ । हालसम्म ७० प्रतिशत कार्ड छपाई सकिएको केन्द्रीय कार्यालयले जनाएको छ । आगामी २५ गतेभित्र सम्पूर्ण प्रतिनिधि र कार्ड छपाइको काम सकिने केन्द्रीय कार्यालयले जनाएको छ ।

LEAVE A REPLY