काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्क, बेलायत, फ्रान्स र अन्य युरोपेली संघका देशहरूमाथि ग्रिनल्याण्डलाई गाभ्ने योजनाको विरोध गरेको भन्दै १० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन् । ट्रुथ सोसलमा एक पोस्ट लेख्दै ट्रम्पले यो फेब्रुअरी १ देखि लागू हुने जानकारी गराएका हुन् ।
ट्रम्पका अनुसार यदि ग्रिनल्याण्डलाई जुनसम्ममा सबै तरिकाले नियन्त्रण गरिएन भने यो शुल्क जुन १ देखि २५ प्रतिशतमा बढाइने चेतावनी पनि दिएका छन् । ट्रम्पको यो निर्णय युरोपेली देशहरूले शुक्रबार चेतावनी जारी गरेको एक दिन पछि आएको हो ।
ट्रम्पका अनुसार यो भन्सार शुल्क डेनमार्क, बेलायत, फ्रान्ससहित नर्वे, स्वीडेन, जर्मनी, नेदरल्याण्ड्स र फिनल्याण्डमा लागू हुनेछ ।
राष्ट्रपति ट्रम्पले लामो समयदेखि खनिजले भरिपूर्ण ग्रिनल्याण्डलाई अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि आवश्यक रहेको भन्दै आएका छन् । उनका अनुसार ग्रिनल्याण्डलाई चीन, रुसले कब्जा गर्नबाट जोगाउन यसलाई अमेरिकी नियन्त्रणमा ल्याउनु आवश्यक छ ।













