आज झापा–५ का दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं. ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दैछन् । जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका–५ स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ ।
अध्यक्ष ओलीले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिए । वडाका पदाधिकारी तथा सदस्यहरुले मतदाताको मुड, विकासको अवस्था र पार्टी कामका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउने छन् । कार्यकर्ताको गुनासो, पार्टीको नीति, देशको आवश्यकता र झापा ५ का लागि आफूले गरेका योगदान लगायका बारेमा कार्यकर्तालाई जानकारी गराउनेछन् ।
अध्यक्ष ओलीले आजै भदौ २४ गते जेनजीका नाममा आगलागी र तोडफोड गरिएका संरचनाको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ । जेनजी आन्दोलनमा गौरादह नगरपालिका, नगरपालिका १, ७ र २ नं वडा कार्यलय, मुख्यमन्त्री हिक्मत कार्की, मेयर छत्रपति सुवेदी, उपमेयर जलवर्षा राजवंसी लगायतको घरमा आगजनी गरिएको थियो ।
अध्यक्ष ओलीले हिजो र अस्ती दमक नगरपालिका र कमल गाउँपालिकाका वडा कमिटीहरुसँग अलगअलग छलफल गरेका छन् । यसपटक हरेक वडा कमिटीहरुले अलगअलग अध्यक्षसँग भेट गर्ने व्यवस्था मिलाइएको कार्कीले जानकारी दिए ।

LEAVE A REPLY