काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन लक्षित सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि आफू र पार्टी तयार रहेको जनाएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले देश बनाउने र देश जलाउने पक्षबीचको प्रतिस्पर्धामा एमाले देश निर्माणको पक्षबाट मैदानमा रहेको स्पष्ट पारेका हुन् ।
अध्यक्ष ओलीले नयाँ र पुराना सबै राजनीतिक दल चुनावमा होमिएको उल्लेख गर्दै सार्वजनिक बौद्धिक वृत्तबाट प्रमुख नेताहरूबीच पारदर्शी बहसको माग उठिरहेको जनाए । सामाजिक सञ्जालमा ‘फ्रेमिङ’ गरिएका प्रचार सामग्रीमार्फत मतदातालाई भ्रममा पार्ने प्रवृत्ति देखिएकाले यस्तो पब्लिक डिबेटको माग आएको हुनसक्ने अध्यक्ष ओलीको भनाइ छ ।
यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलदेखि भर्खरै खुलेका नयाँ दलहरूसम्मले प्रधानमन्त्रीको उम्मेदवार तोकेर प्रतिस्पर्धामा उत्रिएको उल्लेख गर्दै अध्यक्ष ओलीले देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेन्डा, विगतमा गरेका काम र भावी योजनाबारे सार्वजनिक रूपमा आमनेसामने बहस हुनु सकारात्मक भएको जनाए ।
“यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन् । देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ रु सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ । यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु ।” अध्यक्ष ओलीले भने, “चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु । त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु ।”













