काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा सुन चोरीको आरोपमा एक जनालाई प्रहरीले गोली हानेर गएराति पक्राउ गरेको छ ।
स्थानीय रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुन तथा गहना चोरी गरेको आरोपमा नेपालगञ्ज स्थायी घर भई हाल कलंकीमा बस्दै आएका प्रेम थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार मंगलबार दिउँसो थारुले लामाको घरबाट करिब ३० तोला सुनचाँदीका गहनासहित कुल १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सामान चोरी गरेका थिए ।
घटनापछि प्रहरीले सक्रिय अनुसन्धान थालेको र चोरी भएको २४ घण्टाभित्रै अभियुक्तलाई पक्राउ गर्न सफल भएको जनाइएको छ ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार थारुलाई नागार्जुन–६ क्षेत्रबाट नियन्त्रणमा लिने क्रममा खुट्टामा गोली प्रहार गरिएको हो ।
गोली लागेर घाइते भएका थारुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।













