बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरण तर्फको खतरनाक संकेत ः काँग्रेस

0

काठमाडौं । अध्यादेश ल्याउने सरकारको निर्णयको काँग्रेसले विरोध गरेको छ । सरकारको यो कदम शक्ति केन्द्रीयकरणतर्फको खतरनाक संकेत भएको काँग्रेसको भनाइ छ ।
मंगलबार कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रेस विज्ञप्ति जारी गरी सरकराले संसद्प्रति अविश्वास जनाएको उल्लेख गरेका छन्।
‘यस प्रवृत्तिले विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाएको छ र सरकारको संसद्प्रतिको अविश्वासलाई उजागर गरेको छ,’ कांग्रेसले भनेको छ, ‘सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरण तर्फको खतरनाक संकेत हो भन्ने नेपाली कांग्रेसको ठहर छ।’
सरकाले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने कदमलाई कांग्रेसले व्यवस्थापिकाको अधिकारमाथिको अतिक्रमण भनेको छ।
‘यस प्रकारको अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले अत्यन्त आपत्तिजनक छ। यो केवल प्रक्रियागत त्रुटि नभई व्यवस्थापिकाको विधायी अधिकारमाथि कार्यपालिकाको स्पष्ट अतिक्रमण हो,’ विज्ञप्तिमा भनिएको छ। यसले निर्णय प्रक्रियालाई सीमित व्यक्तिहरूमा केन्द्रीत गरी चेक एन्ड ब्यालेन्स प्रणालीलाई कमजोर बनाउने, विपक्षी सहभागिताविना एकतर्फी नियुक्तिको सम्भावना बढाउने तथा संवैधानिक निकायहरूको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयतामाथि प्रतिकूल प्रभाव पार्ने देखिने काँग्रेसले उल्लेख गरेको छ ।

LEAVE A REPLY