कामु प्रधानन्यायाधीशको आक्रोश–सरकारले न्यायालयलाई नियन्त्रण गर्न खोज्यो

0

काठमाण्डौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिशमा सरकारप्रति आक्रोश व्यक्त गरेकी छिन् ।
शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा कायम मुकायम प्रधानन्यायाधीश मल्लले अख्तियारी र विधिको प्रयोगको बहानामा संवैधानिक सर्वोच्चता र न्यायको सार्वभौमसत्तालाई शिथिल बनाएर आज्ञाकारी न्यायपालिका बनाउने प्रयास त भइरहेको छैन भन्दै प्रश्न गरिन् ।
प्रधानन्यायाधीश सिफारिशमा सरकारको निर्णयप्रति संकेत गर्दै उनले सक्षमताको परीक्षण के आधारमा गरियो प्रश्न गरिन् ।
समक्षता कामबाट देखिने भन्दै उनले प्रधानन्यायाधीशमा सिफारिश मनोजकुमार शर्माको मुद्दाको लगत गलत देखाइएको दाबी गरिन् ।
न्यायालयलाई सरकारले नियन्त्रण गर्न प्रयोग गरेको टिप्पणी गर्दै उनले प्रधानन्यायाधीश सिफारिशमा वरिष्ठताको परम्परा तोडिएको जनाईन ।
‘यहाँ व्यक्ति को भन्दा पनि सरकारको स्वच्छेचारिता देखिएको छ । सरकारले न्यायालयलाई नियन्त्रण गर्न खोजेको छ’, मल्लले भनिन् ।
सम्झौता गर्ने र समपर्ण गर्ने न्यायालय बनाउने प्रयास भएको आरोप लगाउँदै उनले न्यायालयमा अहिलेका डर बहुमत, सत्ता र शक्तिको रहेको पनि टिप्पणी गरिन् ।
न्यायाधीशहरूलाई कुनै पनि डर र प्रभावबाट मुक्त भएर न्याय सम्पादन गर्न उनले आग्रह गरिन् । ‘न्यायको अन्तिम गन्तव्य बनाउनुको साटो आफ्नै स्वार्थहरूको संरक्षण गर्न मुकुन्डो बनाउने कुत्सित प्रयासमा त लागिरहेका छैनौँ’, उनले प्रश्न गरिन् ।
आगामी दिनहरूसम्म कुनै कारणले पनि कुनै परिस्थितिमा सौदा गर्न नमिल्ने न्यायको प्रतिस्थापन गर्न सर्वकालीक आवश्यकताको विरुद्ध यो वा त्यो कारण बनाएर धराप थाप्ने दुष्प्रयासलाई सहने वातावरण निर्माण होला भन्ने डर पनि उठिरहेको उनको भनाइ छ ।
उनले दुई तिहाइ सरकार वा महाभियोगको डरबाट समेत मुक्त भएर अदम्य साहसका साथ अघि बढ्न सम्पूर्ण न्यायकर्मीहरूलाई आग्रह गरिन् ।
‘डर र प्रभावमा न्याय सम्भव छैन,’ उनले भनिन्, ‘चाहे त्यो दुई तिहाइ सरकारको डर नै किन नहोस् । चाहे त्यो महाभियोगको डर नै किन नहोस् ।’

LEAVE A REPLY