काठमाडौं । इरानसँग जारी तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (बुधबार) देखि चीनको तीनदिने भ्रमण सुरु गर्दैछन् ।
अमेरिका, इजरायल र इरानबीच चलिरहेको युद्ध, हर्मुजको जलडमरूमा देखिएको संकट र विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको समस्यालाई लिएर विश्वव्यापी चिन्ता बढिरहेको समयमा हुन लागेको ट्रम्पको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।
ट्रम्प २०१७ पछि पहिलोपटक बेइजिङ जान लागेका हुन् । भ्रमणमा इरानसँगको वर्तमान अवस्थाबारे छलफल हुने सम्भावना छ ।
ट्रम्पको यो भ्रमण चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा हुन लागेको हो ।
ह्वाइट हाउसकी प्रिन्सिपल डेपुटी प्रेस सेक्रेटरी अन्ना केलीका अनुसार ट्रम्प बुधबार साँझ बेइजिङ पुग्नेछन् । ट्रम्पका लागि भव्य स्वागत समारोह आयोजना गरिनेछ, त्यसपछि राष्ट्रपति सीसँग द्विपक्षीय भेटवार्ता हुनेछ ।
त्यसक्रममा ट्रम्पले बेइजिङस्थित एक ऐतिहासिक र प्राचीन धार्मिक परिसर टेम्पल अफ हेवनको पनि भ्रमण गर्नेछन् । ट्रम्पका लागि राजकीय भोज पनि आयोजना हुनेछ ।
ट्रम्प र सी दुई नेताहरूबीच शुक्रबार पनि छलफल हुनेछ ।
चीन भ्रमणमा ट्रम्पसँगै विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीर, एरिक ट्रम्प र लौरा ट्रम्प सहभागी हुनेछन् । साथै, भ्रमणमा एप्पलका सीईओ टिम कुक र टेस्ला तथा स्पेसएक्सका प्रमुख एलन मस्क लगायत शीर्ष अमेरिकी कम्पनीहरूका सीईओको ठूलो प्रतिनिधिमण्डल पनि उपस्थित हुने जनाईएको छ ।













