काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले अनलाइन प्रणाली मार्फत धितो बन्धक रोक्का–फुकुवा गर्ने कार्य कार्यान्वयन शुरु गरेको छ ।
नेपाल सरकारको शासकीय सुधार सम्वन्धी कार्यसूची अन्तर्गत नतिजामा आधारित शासकीय प्रवन्ध लागु गर्न, नागरिकलाई छिटो सहज तथा पूर्वानुमानयोग्य समयमा उपलब्ध गराउन तथा सेवा प्रक्रियालाई मुहार विहिन, समयबद्ध तथा डिजिटल प्रणालीमा रुपान्तरण गर्ने लक्ष्य अनुरुप बैंकले उक्त सेवा सञ्चालन गरेको हो ।
बैंकले हालसम्म ८०० वटा भन्दा बढी धितो बन्धक रोक्का–फुकुवा सोही प्रणाली मार्फत गरिसकेको छ । यस अघि अनलाइन प्रणाली मार्फत धितो बन्धक रोक्का र फुकुवा गर्ने सम्बन्धमा नेपाल सरकार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच समझदारी भएको थियो ।
धितोको जग्गा रोक्का तथा फुकुवा अनलाइनमार्फत गर्दा प्रक्रिया छिटोछरितो, पारदर्शी एवं सहज हुनुका साथै समय र खर्च बचत एवं ग्राहक सन्तुष्टी अभिवृद्धी हुने अपेक्षा गरिएको छ ।
विसं २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१५ शाखा कार्यालयहरु मार्फत कर्जा, निक्षेप सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराइरहेको छ ।
Home अर्थतन्त्र राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का, फुकुवा सम्बन्धी सेवा सञ्चालन












