काठमाण्डो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरूले पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा प्रदर्शन गरेका छन् ।
क्रिसमस फेस्टिभलमा बोल्दै मन्त्री किरातीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै पशुपतिनाथ मन्दिर परिसरमा प्रदर्शन गरिएको छ । जथाभावी बोल्दा मन्त्री किराती विवादित बनेका छन् ।
प्रदर्शनकारी संघसंगठनले मन्त्री किरातीको राजीनामा मागेका छन् । विरोध प्रदर्शनमा ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर, सुदन किराती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरिएको छ ।
मन्त्री किरातीले सार्वजनिक कार्यक्रममा क्रिश्चियनलाई नमान्नेहरू संविधान विरोधी भएको र उनीहरूलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचाल्नु गलत भएको जनाए ।
‘उहाँ त्यो पदमा बस्न र रहिरहन उपयुक्त पात्र होइन भनेर विरोध गरेका हौं,’ उनले भने । मन्त्री किरातीले सामाजिक सद्भाव बिगार्ने काम गरेको र बर्खास्त गर्नुपर्ने उनले जानकारी दिए ।
अध्यक्ष पुरुषले पशुपति क्षेत्र विकास कोषमा भएका पछिल्ला नियुक्तिमाथि पनि प्रश्न उठाए । धार्मिक क्षेत्रमा गैरधार्मिक व्यक्तिहरूको नियुक्ति बन्द गर्नुपर्ने र धार्मिक क्षेत्र पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाइनु नहुने उनले जनाए ।
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा बुधबार माओवादी केन्द्रकी नेता लक्ष्मी पुनलाई नियुक्त गरिएको छ । उनले भने, ‘धार्मिक क्षेत्रमा पार्टीका नेता, कार्यकर्ता पठाउने, कमिसन खाने, ठेक्कापट्टामा भाग लिने काम भएको छ । शक्तिपीठहरूमा गैरधार्मिक व्यक्तिहरूको नियुक्ति बन्द गर्नुपर्छ ।’
सामाजिक सञ्जालमा समेत मन्त्री किरातीको आलोचना भइरहेको छ ।